काठमाडौं-इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४–० ले हराउँदै अपराजित यात्रालाई १७औं खेलसम्म जारी राखेको हो ।


ADVERTISEMENT


लिगमा एकै सिजन र समग्रमा लगातार सबैभन्दा धेरै खेल जित्ने कीर्तिमान बनाएको म्यानचेस्टर सिटीले कीर्तिमानको अंकलाई अझै बढाउँदै लगेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा सर्जियो अग्यूरोले दुई गोल तथा रहिम स्ट्रर्लिङ र डानिलोले एक-एक गोल गरे ।


ADVERTISEMENT

# # #


खेलको २७ औं मिनेटमा अग्यूरोको गोलबाट सुरुवाति अग्रता लिएको सिटीले पहिलो हाफमा १–० मै सकाएको थियो । दोस्रो हाफमा केही आक्रमक देखिएको सिटीले थप तीन गोल गर्‍यो । ५३ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ७९ औं मिनेटमा अग्यूरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए। बर्नेमाउथविरुद्ध दुई गोल गरेसँगै अग्युरोले इदिहाद स्टेडियममा आफ्नो सयौं गोल पुरा गरेका छन् ।

८५औं मिनेटमा डानिलोले गोल गरेसँगै सिटीले लिगमा ४–० को जित निकाल्न सफल भयो । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको लिगको १९ खेलबाट ५५ अंक भएको छ। राति नै भएको खेलमा बराबरीमा रोकिएको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा सिटी १३ अंकले अगाडि छ। तेस्रो स्थानमा रहेको चेल्सी ३९ अंकसहित पछ्याइरहेको छ । लिभरपुल चौथो र टोटन्ह्याम पाँचौ स्थानमा छन् ।