काठमाडौं-इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड लेष्टर सिटीसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा युनाइटेड १० खेलाडीमा सिमित लेष्टर सिटीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।


ADVERTISEMENT


लेष्टरको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका लागि दुवै गोल हुवान माटाले गरेका थिए । लेष्टरका जेमी भर्डी र ह्यारी मगुइरेले समान एक एक गोल गरेका थिए । २७ औं मिनेटमा भर्डीले गोलबाट घरेलु टोली लेष्टरले सुरुवाती अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा युनाइटेडका माटाले गोल गर्दै पहिलो हाफमै खेल बराबरीमा ल्याए ।


ADVERTISEMENT

# # #


दोस्रो हाफमा युनाइटेडले सुरूवाती अग्रता बनायो। खेलको ६० औं मिनेटमा माटाले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २-१ को अग्रतामा पुर्‍याए। खेलको ७३ औं मिनेटमा ड्यानियल अमर्टेयले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदान बाहिरिएपछि लेष्टर १० खेलाडीमा सिमित भएको थियो । खेलको अन्तिम मिनेटमा मगुइरेले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए।

यो बराबरीसँगै युनाइटेडले लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी घटाउने मौका गुमाएको छ । लिगको दोस्रो स्थानमा रहेको युनाइटेडको १९ खेलबाट ४२ अंक रहेको छ । युनाइटेड सिटीभन्दा १३ अंकले पछि छ । समान खेलबाट सिटीले ५५ अंक छ । २७ अंक जोडेको लेष्टर सातौं स्थानमा छ ।