काठमाडौं – कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बताए । कपी जाँच सकिसकेको बताउँदै उनले अहिले संपरीक्षण जारी रहेको जानकारी दिए ।


ADVERTISEMENT


पौडेलले भने, “भूकम्पमा भवन भत्केर पनि स्थानको अभाव भयो । कपी जाँच गोप्य हुने हुँदा अन्त गर्न पनि सकिएन । तर पनि हामीले १० वटा समूह बनाएर तीव्र गतिमा काम गरिरहेका छौं ।”


ADVERTISEMENT

# # #


अध्यक्ष पौडेलले प्राप्तांकसमेत इन्ट्री भइसकेको बताउँदै संपरीक्षणपछि नम्बर करेक्सनमा लैजाने र लगत्तै नतिजा प्रकाश गर्ने बताए । गत वर्षको तुलनामा नियमिततर्फको नतिजा ढिलो नभएको दाबी गर्दै उनले विद्यार्थीलाई सहज होस् भनेर मौका परीक्षाको नतिजा पहिले ल्याएको बताए । “नियमितका विद्यार्थीलाई पनि अब धेरै कुर्नु पर्देैन । हाम्रो टार्गेट यही पुस १५ गते नै नतिजा सार्वजनिक गर्ने हो, केहीगरी ढिला भएपनि २० गते कट्दैन,” उनले भने ।

कक्षा ११ को नतिजा यो वर्षदेखि ग्रेडिङमा

कक्षा ११ को नतिजा यो वर्षदेखि ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने भएको छ । ग्रेडिङ प्रणालीबाट आउन लागेकाले नतिजाबारे विद्यार्थीमा कौतूहल देखिएको परीक्षा बोर्डले बताएको छ । यसअघि एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट सुरु भइसकेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले गे्रडिङ प्रणाली वैज्ञानिक र अन्तर्राष्ट्रिय स्तरमा पनि मान्य भएकाले कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीबाट गर्ने बोर्डले निर्णय गरेको बताए । कक्षा १२ को नतिजा पनि ग्रेडिङ सिस्टमअनुसार गर्ने बोर्डको तयारी छ ।