काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल भएको छ ।


ADVERTISEMENT


राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश विवादका विषयमा राष्ट्रपति र ओली प्रचण्डबीच बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा छलफल भएको हो ।  छलफलका क्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेशमा सहमति जुटाउन ओली र प्रचण्डसँग आग्रह गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न सरकारले दवाव दिइरहेका बेला बाम गठबन्धनका शीर्ष नेतासमेत रहेका ओली र प्रचण्डलाई राष्ट्रपतिले यस्तो आग्रह गरेकी हुन् ।

करिव २ घण्टा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश अघि बढन नसक्दा सरकार गठन प्रक्रियामा समेत ढिलाई हुनेतर्फ पनि दुवै नेताको गम्भिर ध्यानाकर्षण गराएकी थिइन् ।

राष्ट्रपतिले अध्यादेशमा देखिएको विवाद समाधान गरेर अघि बढन बाम गठबन्धन दुवै नेतालाई एकैसाथ राखेर ध्यानाकर्षण गराएको राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि ऐन पारित हुन नसक्दा निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या समेत तय गर्ने प्रक्रिया अघि बढाउन सकेको छैन ।

यसै विषयमा गत शनिवार राष्ट्रपति भण्डारीसँग भेट गरी प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश तत्काल प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।

यता, एमालेले भने एकल संक्रमणीय निर्वाचन प्रणालीको आधारमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराउने व्यवस्थासहित सरकारले तयार पारेको अध्यादेश संविधान विपरित भएकाले राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने तर्क गर्दै आएको छ ।

एमाले र माओवादी केन्द्रले बहुमतीय प्रक्रियाबाट मात्रै राष्ट्रिय सभाको निर्वाचन गराउनुपर्नेमा जोड दिएपछि संसदबाट समेत यो विधेयक पारित हुन सकेको छैन ।