रुपन्देही – राजनीतिक पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नं १ को चुनावी चर्चा उचाइमा छ । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा र निर्वाचनकै समयमा पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसाल चुनावी प्रतिस्पर्धामा रहेकाले यो क्षेत्रको निर्वाचन सबैका लागि चासोको विषय बनेको छ ।


ADVERTISEMENT


एमाले नेता विश्वकर्मा नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित छन् भने भुसाल मार्क्सवादी अध्येता हुन् । यसरी विगतमा एउटै पार्टी र विचार बोकेको पूर्वसहकर्मीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । विसं २०३७ मा तत्कालीन नेकपा (माले) बाट राजनीतिक यात्रा सुरु गरेका ६० वर्षीय विश्वकर्मा चौथो पटक सङ्घीय संसद्का लागि भुसालसँग निर्वाचन लड्दै छन् । “राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका र लामो समय एउटै दलमा रहेका नेताको प्रतिस्पर्धाले यो क्षेत्रको निर्वाचन रोचक बनेको छ”, स्थानीय अगुवा तिलोत्तमा–११ का वेद गिरीले भने ।


ADVERTISEMENT

# # #


विश्वकर्माको राजनीतिक क्षेत्र र भुसालको गृहनगर यो निर्वाचन दुवै उम्मेदवारका लागि प्रतिष्ठाको विषय बनेकाले चुनावी माहोल पनि तातिँदै गएको उनको भनाइ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको समर्थनमा चुनाव प्रचारमा लागेका विश्वकर्मा २०३८/३९ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियू उपसभापति भएका थिए । विद्यार्थी राजनीतिसँगै जातीय विभेद विरुद्धको आन्दोलनमा लामो समय नेतृत्व गरेका विश्वकर्मा २०४५ सालमा स्थापना भएको मालेको भ्रातृ सङ्गठन जातीय उत्थान मञ्चका संस्थापक छन् ।

विस २०४७ सालमा भएको मञ्चको पहिलो राष्ट्रिय सम्मेलनबाट उपाध्यक्ष र २०५१ मा महासचिव र २०५५ मा अध्यक्ष बनेका विश्वकर्मा एमालेको छैटौँ महाधिवेशनबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य भएका थिए । उनी सातौँ महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र भारत प्रवासको इन्चार्ज बनेका थिए ।

दोस्रो जनआन्दोलनपछि विश्वकर्मा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

विसं २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका विश्वकर्मा दोस्रो संविधानसभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट कांग्रेसका अब्दुल रज्जाकसँग झिनो मतले पराजित भएका थिए । विसं २०७४ मा रज्जाकलाई पराजित गरी विश्वकर्मा प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

यस क्षेत्रको विकास र समृद्धिका लागि योगदान गरेका कारण यो निर्वाचनमा पनि जनताले साथ दिने आशा विश्वकर्माको छ । पूर्वाधार विकासतर्फ उत्तर दक्षिण सडक, सरकारी मेडिकल कलेज र देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना, रोहिणी नदीको संरक्षणलगायतका दर्जनौँ योजना अघि बढाउने प्रतिवद्धता उनको छ ।

स्याङ्जाको पिडीखोलामा जन्मिएका स्वतन्त्र उम्मेदवार ६१ वर्षीय भुसाल २०२१ मा रूपन्देहीको करहिया झरेका हुन् । अहिले तिलोत्तमा–९ का स्थायी बासिन्दा भुसाल मणिग्रामको संस्कृत माध्यमिक विद्यालयमा पढ्दा विद्यार्थी राजनीतिमा आबद्ध भएका थिए ।

भुसाल नेकपा (माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (एकताको पाँचौँ) को केन्द्रीय सदस्य र दुई पटक महासचिव भए । २०४६ सालको आन्दोलनमा उनी महासचिवका रूपमा सक्रिय भएका थिए ।

विसं २०५० मा नेकपा (एमाले)को रूपन्देही जिल्ला कमिटी उपसचिव र २०५१ सालमा सचिव भएका थिए । विसं २०५३ को उपनिर्वाचनमा रूपन्देहीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित उनी २०५८ देखि २०६४ सम्म एमालेको केन्द्रीय प्रचार विभाग सदस्य, केन्द्रीय स्कुल विभाग सदस्यको जिम्मेवारीमा रहेका थिए ।

भुसालले यसअघि २०७४ को निर्वाचनमा रुपन्देहीको क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई पराजित गरेका थिए । त्यसअघि २०६४ र २०७० मा वर्तमान गृहमन्त्री बालकृष्ण खाणसँग पराजित भएका थिए ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट उम्मेदवार बनेका भुसाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी एवं बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको समेत समर्थन छ । उहाँले औद्योगिक तथा व्यावसायिक पूर्वाधारका क्षेत्रमा काम गर्ने बाचा गर्दै मतदातासँग मत मागिरहहेका छन् ।

उम्मेदवारी छनोटमा एमाले क्षेत्रीय तथा जिल्ला कमिटीले दुवैको नाम सिफारिस गरेर पठाए पनि प्रदेश कमिटीले विश्वकर्माको एकल नाम केन्द्रमा पठाएको थियो । क्षेत्र नं ३ बाट भुसालको नाम सिफारिस भए पनि राप्रपासँगको तालमेलमा एमालेले सो क्षेत्र छाड्नु परेकाले उम्मेदवारी दर्ताको अघिल्लो दिन पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

रुपन्देही क्षेत्र नं १ मा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नं १, ३, ४, ५, र ६ रहेको छ । रासस