काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाताहरुको सकारात्मक प्रतिक्रियाबाट आफूहरु उत्साहित भएको बताएका छन् ।


ADVERTISEMENT


काठमाडौं क्षेत्र नम्बर ५ को बुढानीलकण्ठमा आज घरदैलोका क्रममा संचारकर्मीसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफूहरु यसै क्षेत्रमा लामो समयदेखि जनताहरुमा भिजेकाले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । यसपटक मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउँदै उनले आमनागरिकहरुको सदभाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचनमा एमालेले जित्ने विश्वास व्यक्त गरे ।


ADVERTISEMENT

# # #


वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा (एमाले) जनताको काम गरेर नै उचाईमा पुगेको बताए । विचार, संगठन, नेतृत्व र जनताको काम गर्ने हिसाबले एमाले संगठित रहेको बताउँदै उनले जनताको काम गरेर एमालेले बनाएको उचाइलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको बताए ।

यसअघि सोमबार काठमाडौंको हाँडीगाउँ गहनापोखरीबाट रुद्रमति मार्ग, विशाल नगर, बालुवाटार, टुँडालदेवी मन्दिर हुँदै धुम्बाराही पीपलबोटसम्म पोखरेलको पदयात्रा आयोजना गरिएको थियो । पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, पूर्वराजदूत एवं चर्चित गायिका अञ्जान शाक्यसहित हजारौंको सहभागिता थियो ।

काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेको निकै बलियो संगठन रहेको र पोखरेल हेभीवेट नेता भएका कारण एमालेले सहज रुपमा जित्ने विश्वास लिइएको छ । काठमाडौं ५ (१) मा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल र ५ (२) मा एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला उम्मेदवार छन् ।