टङ्कीसिनवारी – पर्यटन प्रवर्द्धनका लागि एक देशबाट अर्को देश नै जानु पर्छ भन्ने छैन । मुलुकभित्र रहेका अनगिन्ती संरचनादेखि वस्तुसम्मले पर्यटक तान्ने क्षमता राख्दछ ।


ADVERTISEMENT


नगर अथवा गाउँपालिका क्षेत्रभित्रको कुनै एक वडामा पाइने अथवा निर्माण गरिएका महत्वपूर्ण संरचना र पुरातात्विक महत्त्वका वस्तुले त्यसै क्षेत्रको अन्य वडाका वासिन्दालाई आकर्षित गरेमा मात्र पनि पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने देखिएको छ ।


ADVERTISEMENT

# # #


विराटनगर–३ को षडानन्द मार्ग अहिले सेल्फी रोडको नाउँबाट प्रख्यात छ । यसलाई कतिपयले भाइरल रोड पनि भन्ने गरेका छन् । विराटनगर–३ को वडा कार्यालयदेखि उत्तर पाँच सय मिटरको सडक क्षेत्रको एकापट्टि खाँबो गाडेर त्यसमा रङ्गीचङ्गी बत्ती झुण्ड्याइएको छ । सेल्फी रोडमा साँझ पर्नासाथ बल्ने झिलीमिली बत्तीमा टिकटक बनाउनेदेखि घुम्न आउनेसम्मको भीड लाग्ने गरेको छ । सेल्फी रोडले अन्तरवडा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको महसुस गर्न थालिएको छ ।

विराटनगरको १९ वटै वडाबाट सर्वसाधारण सेल्फी रोडमा तस्बिर खिचाउन आउने गरेका छन् । विराटनगर–१० की भवानी खनालले सेल्फी रोड हेरेर आफू मोहित भएको बताइन् । उनले पर्यटक तान्न ठूलै रकम खर्च गर्नु पर्ने आवश्यकता नरहेको भनेर सेल्फी रोडले देखाएको बताइन् ।

इनरूवा निवासी हाल विराटनगर–६ बस्ने उत्तम कोइरालाले नेपाल पर्यटकको स्वर्ग रहेको बताए । स–साना कुराले पनि राम्रै ध्यान आकृष्ट गर्ने क्षमता राख्ने उदाहरण यो सेल्फी रोडले देखाएको उनको भनाइ छ । विराटनगरवासी बाहेक सेल्फी रोडले मोफसलका बासिन्दाको पनि ध्यान आफूतिर तान्न विस्तारै सफल हुँदैछ । बुढीगंगा–२ टङ्कीसिनवारीका राम सरदारले दिनभरिको कामको थकानलाई सेल्फी रोडको उज्यालोले मेट्ने गरेको बताए ।

कुनै बेला उजाड जस्तो देखिने सेल्फी रोडमा नयाँ–नयाँ होटल र पसल थाप्ने होड नै चलेको छ । साँझपख चटपटेदेखि बेलुन बेच्ने स–साना कारोबारीको पनि धन्दा चल्न थालेको छ । सेल्फी रोडसम्म यात्रु ल्याउन र लैजान विराटनगरका सिटी सफारी र टेम्पो व्यस्त बन्न थालेका छन् ।

सेल्फी रोडमा सर्वसाधारणको आवतजावत बढ्दा यहाँका किराना पसलदेखि होटलसम्मले मनग्य आम्दानी गर्न थालेका छन् । विराटनगर–३ का वडाध्यक्ष बासु बस्नेतले निवर्तमान वडाध्यक्ष विनोद बस्नेतको कार्यकालमा छुट्याइएको पाँच लाख रूपैयाँ खर्च गरेर सो सडकमा २२ वटा खम्बा गाडिएको र झिलीमिली बिजुली बत्ती जडान गरिएको बताए।

उनले सेल्फी रोडमा अत्यधिक भीड हुने गरेको र कहिलेकाहीँ भीड नियन्त्रणका लागि प्रहरीसमेत परिचालन गर्नुपरेको स्मरण गरे । उनले विराटनगरवासी र मोफसलबाट थुपै्र सर्वसाधारण सेल्फी रोडको अवलोकन गर्न आउने गरेको जानकारी दिए ।

वडाध्यक्ष बस्नेतले सेल्फी रोडको सडक पेटीमा टाली ओछ्याउने, वृक्षरोपण गर्ने, नालामा ढकनी लगाउने, ठाउँ–ठाउँमा बस्ने फलैँचा बनाउने र सार्वजनिक शौचालयसमेत निर्माण गरिने बताए । उनका अनुसार सेल्फी रोडमा रु तीन करोड खर्च गर्ने गरी गुरूयोजना समेत तयार भइसकेको छ ।

प्राध्यापक दिनेशराज सुवेदीले सेल्फी रोडलाई वातावरणीय हिसाबले सुन्दर बनाउँदै लैजानु पर्ने बताए। विराटनगरभित्र घुम्न जाने ठाउँको अभाव हुँदा विराटनगरवासीको न्यास्रो सेल्फी रोडले मेटाउन भूमिका खेल्ने उनको भनाइ छ । सेल्फी रोडलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न महानगरपालिका, वडा र स्थानीयवासी सबैको समान दायित्व भएको उनले बताए । रासस