काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको आर्थिक, सामाजिक विकासले नेपालको आर्थिक सामाजिक विकासमा ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बेइजिङस्थित नेपाली दूतावासले हिजो साँझ आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले चीनले नेपालमा शान्ति र विकास चाहेकोप्रति हामी सराहना व्यक्त गर्दछौँ भने।


ADVERTISEMENT

# # #


बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री दाहालले दुई बर्ष अगाडी नेपालमा आएको विनाशकारी भूकम्पपछि चीनले तत्कालै गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन नेपालका लागि असल मित्र र असल साझेदार भएको बताए ।

“हाम्रो सम्बन्ध अटुट रहिआएको छ, हाम्रो सम्बन्ध पञ्चशीलको सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा कायम रहिआएको छ”–उनले भने। आकार र अर्थतन्त्रमा साना ठूला भएपनि चीनसँगको सम्बन्धलाई नेपालले ठूलो महत्व दिएको उनको भनाइ थियो । प्रधानमन्त्रीले भने, “मैले एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिएर आएको छु र सो सम्मेलन नेपाल जस्तो देशका लागि फलदायी हुने विश्वास लिएको छु ।”

चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको बोआओमा भएको भेटवार्ताले दुई देशबीचको सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे । उनले चीनमा बसिरहेका नेपालीले पनि नेपाल–चीन सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याउन सक्ने बताए।

प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सि जिनपिङ तथा अन्य चिनियाँ अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको र त्यसबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने पनि बताए । उनले दुईदेशबीच विगतमा भएका सम्झौता कार्यान्वयनलाई अघि बढाउन नेपाल अग्रसर रहेको र नेपाल ‘एक क्षेत्र एक सडक’ अवधारणामा सहभागी हुन इच्छुक रहेको पनि बताए।

प्रधानमन्त्री दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चिनियाँ जनताप्रति नेपाली जनताको ठूलो सद्भाव रहेको बताए ।चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले प्रधानमन्त्री तथा उहाँको प्रतिनिधिमण्डललाई स्वागत गर्दै यस्ता उच्चस्तरीय नियमित भ्रमणले दुई देशबीचको सौहार्दपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताए ।

सो अवसरमा चीन सरकारका उच्च अधिकारी, नेपालका मित्रहरु, चीनस्थित नेपाली समुदाय र नेपालका लागि चीनका पूर्वराजदूतहरु व्यापारी वर्ग तथा बौद्धिक समुदायको उपस्थिति रहेको थियो ।