काठमाडौँ– आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ । यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले अनुमोदन गरेको पाइएन ।


ADVERTISEMENT


निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राप्रपाले नेपाली काँग्रेससँग तालमेल गरी कुल पाँच स्थानमा उम्मेदवारी दिएकामा एक स्थानमा मात्र जित हासिल गरेको छ । विजयी एक स्थानमा पनि वाम गठबन्धनसँगको तालमेलका कारण सो पार्टीलाई सफलता मिलेको हो । पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग ६ हजार ७२ मतान्तरले पराजय भोग्नु परेको छ । दाहाललाई ४० हजार ६३० मत प्राप्त हुँदा थापाको ३४ हजार ५ सय ५८ मत आएको थियो ।


ADVERTISEMENT

# # #


राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले वाम गठबन्धनको समर्थनका कारण झापा–३ मा काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई १३ हजार ४५५ मतान्तरले पराजित गरे । यही वर्ष राप्रपाबाट फुटेर बनेको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर जबरा सिन्धुपाल्चोक–२ मा आठ हजार ३२ मतको फरकमा एमालेका नेता शेरबहादुर तामाङसँग पराजित भए ।

काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा सहभागी भएको उक्त पार्टीले प्रत्यक्षतर्फ देशभरबाट चार सिटका लागि तालमेल गरे पनि एक सिटसमेत जित्न सकेन । राप्रपा एकीकरण भएलगत्तै पुन विभाजित डा।प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) ले कुनै गठबन्धनसँग तालमेल नगरी निर्वाचनमा होमिएकोमा कुनै पनि सिट जितेन ।

मुलुकमा हिन्दूराष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक शासन व्यवस्थाको पक्षमा वकालत गर्दै आएको थापा नेतृत्वको राप्रपाले फरक मतसहित संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा हस्ताक्षर गरी त्यसपछिका सरकारमा सहभागी हुँदै आएको थियो । तर सो पार्टीले निर्वाचनको घोषणापत्रमा पुन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको पक्षमा आफूलाई प्रस्तुत गरेको थियो ।

राणा नेतृत्वको राप्रपा ९प्रजातान्त्रिक०ले हिन्दूराष्ट्रको आवश्यकतामा जोड दिँदै परम्परागत शक्तिलाई समेत मान्ने विषयलाई चुनावी घोषणापत्रमा उल्लेख गरेको छ । डा. लोहनी नेतृत्वको दल पाँच हजार वर्ष पुरानो वैदिक सभ्यतासहितको हिन्दूराष्ट्रको पक्षमा उभिएको छ । उसले राष्ट्रिय चरित्रसहितको संस्थाका रुपमा राजसंस्था र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री राख्नुपर्ने घोषणापत्रमा माग गरेको छ ।

तीन दशक लामो पञ्चायती व्यवस्थामा सक्रिय राजनीति गरेका नेतामध्ये तीनवटै पार्टीका अध्यक्ष अबका राजनीतिमा हावी हुने सम्भवना न्यून हुँदै गएको छ । राप्रपाका प्रवक्ता भुवन पाठक चुनावको मुखमा पार्टी विभाजन हुनु नै आफूहरुको परिणाम निराशाजनक हुनुको कारण भएको बताउछन् । उनले निर्वाचन परिणामका बारे चाँडो केन्द्रीय समितिको बैठकमा समीक्षा गरिने जानकारी दिए ।

राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले पार्टी विभाजनका अतिरिक्त लोकतान्त्रिक गठबन्धनका नाममा कम स्थानमा उम्मेदवार उठाइएकाले पनि पराजय भोग्न परेको विचार व्यक्त गरे । उनले पार्टीका नीति तथा कार्यक्रम तल्लो तहसम्म पुर्याउन नसकेको समेत स्वीकार गरे ।

डा।लोहनी नेतृत्वको दलका केन्द्रीय सदस्य सुन्दर पाण्डेले पार्टी विभाजन भएपछि संगठन निर्माणका लागि समय कम हुनुका साथै दुई पार्टीको चुनाव चिह्न गोलाकारभित्र र चारकुनाभित्र हलो दुईवटा भएका कारण पनि सफलता प्राप्त हुन नसकेको बताए ।

पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा वि.सं २०४७ जेठ १५ गते एकै दिन राप्रपा स्थापना भएको थियो । राप्रपा (थापा) र राप्रपा (चन्द) एक वर्षभित्र पुनः एकीकृत भएपनि करिब २६ वर्षको यात्रामा धेरै पटक विभाजित हुँदै आएका छन् । कृष्णराज गौतम रासस