काठमाडौं-लामो समयदेखि पानी नपरेको हुम्लामा सोमबार यो वर्षकै पहिलो पटक हिमपात भएको छ । बिहान ६ बजे देखि सुरु भएको हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा १ फिट बढी हिउँ जमेको छ । हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा झरेको छ ।


ADVERTISEMENT


हिमपातले उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाविसमा जाडो बढेको छ ।
हिउँका कारण चीनसँग सिमा जोडिएको उत्तरी गाविस लिमीका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका छेपाल लामाले टेलिफोनबाट बताए । उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै साढे २ फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्कन नसकिएको हो ।


ADVERTISEMENT

# # #


सदरमुकाम सिमकोटमा हिमपातले तापक्रम दिउँसै माइनस ५ भन्दा माथि पुगेको हुम्लाका प्रहरी प्रमुख कमलप्रसाद नेपालले बताए ।

हिमपातले किसान खुसी
वर्षकै पहिलो हिउँ परेपछि गाउँका किसान भने खसी भएका छन् । गएको असोज अन्तिम सातादेखि राम्रोसँग पानी नपर्दा बारीमा छरेको गहुँबाली उम्रन नसकेकोमा दुख मनाउ गरिरहेका कृषकलाई भने यो हिमपातले खुसी बनाएको सिमकोटकी परेउकली रावतले बताइन् । जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएपनि दक्षिणी क्षेत्रमा भने पानी परेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।

चिसोले प्रहरी चौकी सदरमुकाममा सारियो
हिमपातले अत्याधिक चिसो बढेपछि जिल्लाको उत्तरी क्षेत्रमा भएका २ प्रहरी चौकी सरेका छन् । नेपाल चीन सिमानाको हिल्सा प्रहरी चौकी र लिमि चिसोले सरेको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रमुख कमलप्रसाद नेपालले जानकारी दिए ।