काठमाडौँ – बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले रु २२ लाखभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


बेलायत पठाइदिने लोभ देखाएर रु १५ लाख ठगी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति रु नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा रु चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति रु तीन लाख ठगी गरेको खुल्न आएको छ ।


ADVERTISEMENT

# # #


त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

यता दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौँको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

वर्किङ भिसामा दुबई जानका लागि रु सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक रु एक लाखसम्म तलब हुने भनी रु सात लाख ५० हजार लिई उनी फरार भएका थिए । उनलाई पनि सोही कार्यालयबाट खटिएको प्रहरीले आज गोङ्गबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।