काठमाडौँ – वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा गम्भीर घाइते वा विरामी भएर उपचारत नेपालीहरुको स्थिति बुझ्न, उनीहरुको उद्धार गर्न तथा आवश्यक सहयोग गर्न कार्यदल गठन भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णय गर्दै कार्यदल गठन गर्न निर्देशन दिएका हुन् । तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने तथा सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहेका छन्।
समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकहरुको एकीकृत तथ्याङ्क तयार गर्ने, तिनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी कृयाकलापबाट व्यहोर्ने काम गर्ने छ ।
साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली बिरामीका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटक पटक लेखी पठाएको थियो । असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय प्रतिनिधिहरुको छलफल भएको थियो ।
उक्त बैठकले साउदी अरबसहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधि नाघिसकेका नेपालीहरुको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो ।
त्यस्तै विदेशी अस्पतालहरुमा उपचाररत नेपाली नागरिकहरुको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार बार्डको सचिवालयले गर्ने छ ।
सोही बैठकको छलफलको भावनाका आधारमा मन्त्रीले वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट आवश्यक स्रोत, साधनको व्यवस्थापन गर्ने गरी तीन सदस्यीय कार्यदल गठन गर्न सचिवलाई निर्देशन दिएका हुन् ।
विभिन्न मुलुकमा काम गर्ने क्रममा बिरामी भएर उपचाररत नेपालीको संख्या धेरै ठूलो रहेकाले उनीहरुलाई स्वदेशमा ल्याउन कुनै पनि समस्या भए मन्त्रालय र बोर्डले समाधान गर्न तयार रहेको मन्त्रीका निजी सचिव कृष्ण सुवेदीले बताएका छन् ।