काठमाडौँ – बैङ्किङ अपराधमा रु ६६ लाख जरिवाना तोकिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई यहाँस्थित टुँडालदेवीबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।


ADVERTISEMENT


उनको नामको बैङ्क खाताको चेकबाट रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरमा गत चैत २१ गतेको फैसलाले १० दिन कैद र रु ६६ लाख जरिवानाको आदेश दिएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई बिहीबार पक्राउ गरेको थियो ।ब्यूरोका अनुसार फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ ।


ADVERTISEMENT

# # #


लागूऔषधसहित पक्राउ

यता काठमाडौँ महानगरपालिका–६ बौद्धबाट २३ ग्राम अवैध लागूऔषध खैरोहेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ बस्ने सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय निमा लामा, मोरङ पथरी शनिश्चरेका २९ वर्षीय किसान आङ्देम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ पथरीका २६ वर्षीय मणिराज सुब्बा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत लागूऔषध खैरो हेरोइन मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।