मकवानपुर – नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँले आफुले मुख्यमन्त्री पदको लागि मरिहत्ते नगर्ने बताएका छन् । एक  टेलिभिजनमा अन्तर्वार्ताका क्रममा    बानियाँले नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद नछोडे पदकै लागि आफू लडेर नहिँड्ने बताएका हुन् ।


ADVERTISEMENT


सभापति बानियाँले न्याय, सेवा, इमान्दारिता र जिम्मेवारीका लागि राजनीति गरेको पनि बताए । कांग्रेस  पदभन्दा पनि पद्धतिमा हिँड्ने पार्टी भएको र नेकपा समाजवादीलाई हिजोको सहमति र सम्झौताभन्दा मुख्यमन्त्री पद प्यारो भएको बानियाँको तर्क छ ।


ADVERTISEMENT

# # #


साथै बानियाँले  हालका मुख्यमन्त्री राजेन्द्र पाण्डेले  हस्तलिखित सम्झौता गरेकोसमेत प्रष्ट पारे । केहि समयअघि आलोपालो गर्ने गरी सहमति भएको लिखित बाहिरिएको थियो, उक्त लिखित पाण्डे आफैंले लेखेको बानियाँले खुलासा गरे ।

नेपाली कांग्रेसका बागमती प्रदेशका संसदीय दलका नेतासमेत रहेका बानियाँले नेकपा समाजवादीले सहमति र सम्झौतालाई मान्दिन भन्नु राजनीतिमा इमान कम, पद बढी र बेइमानीको शृंखलाको प्रारम्भ भएको पनि बताए ।  मौखिक र लिखित सहमति हुँदाहुदै पनि समाजवादीले मुख्यमन्त्री पद छाड्न नमानेको बानियाँले प्रष्ट्याए ।

नेपाली कांग्रेसले संस्कारको राजनीति गर्दै आएको स्मरण गराउँदै  कार्यक्रममा  बानियाँले भने, ‘कांग्रेसले संस्कारको राजनीति गर्ने भएकाले गठबन्धनभित्रका दललाई धोका दिन हुँदैन ।’

सभापति बानियाँले नेपाली कांग्रेसले धैर्यताका लागि राजनीति गरेको भन्दै हिजोको सहमति कार्यान्वयन नभएकोमा दु:ख व्यक्त गरे । सभापति बानियाँले स्थानीय तहको निर्वाचनलाई लिएर बिभिन्न टिकाटिप्पणी हुनु गलत भएकोसमेत टिप्पणी गरे। उनले नेपाली कांग्रेसले गणतन्त्रको स्थायित्वका लागि प्राथमिकताका लागि लडेको प्रष्ट्याए। वामघटकहरु एक ठाउँमा उभिनुसमेत सुन्दर विषय भएको बानियाँको तर्क छ ।  सभापति बानियाँले नेपाली कांग्रेसले हरेक परिवर्तनमा नेतृत्व लिएको पनि स्मरण गराए ।