काठमाडौं – साझा यातायातले आजदेखि बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ । बिजुलीबाट चल्ने तीन वटा बसमा महिलाहरुलाई रोजगारी दिइने भएको छ ।   काठमाण्डौ उपत्यकामा चल्ने यी बसको बिहान ११ बजे एक कार्यक्रमकाबीच शुभारम्भ हुँदैछ ।


ADVERTISEMENT


तीन वटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले उज्यालोलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला छन् । चालक र परिचालकमा महिलालाई प्राथमिकता दिइएको पाण्डेले बताए । बस अपाङ्गतामैत्री छ । अपाङ्गता भएकाहरुले ह्वीलचियरसहित सजिलै यो बस चढ्न सक्नेछन् ।

सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लोर बस हो । यसमा ज्येष्ठ नागरिक, अशक्त र बालबालिका सजिलै चढ्न र ओर्लन सक्छन् । बसमा एक चालक र एक अपाङ्गता भएकाका लागि छुट्याइएको सिटसहित जम्मा २६ सिट रहेको छ । यस्तै, उभिएर यात्रा गर्न सजिलो होस् भन्नका लागि ह्याण्डल बार राखिएको छ ।

यस्तै, बसमा सीसीटीभी, टीभी, वाइफाई, डस्बिन र बस रोक्न विशेष खालको बटमको सुविधा रहेको साझाले जनाएको छ । बसमा १ सय ६१ दशमलव २८ किलो वाटको ब्याट्रीको प्रयोग गरिएको छ ।

बस ४५ किलोवाटको चार्जमा ५ घन्टा चार्ज गर्दा २ सय किलोमिटर गुड्न सक्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले बताए । उनकाअनुसार चीनबाट ल्याउन लागिएको ४० मध्ये अहिले तीन वटा बस मात्रै नेपाल आएका छन् । आएका तीन वटै बस आजदेखि चलाउन लागिएको हो । अन्य बाँकी बस चीनमा बन्दै गरेको र क्रमशस् नेपाल आउने उनले बताए । एउटा बसको झन्डै डेढ करोड रुपैयाँ परेको पनि उनले जानकारी दिए।

साझाले विद्युतीय बस खरिद गर्न गएको चैत १३ गते ग्लोबल टेन्डर आह्वान गरेको थियो । इन्धनको भाउ महँगिएर डिजल, पेट्रोलबाट चल्ने गाडी चलाउनै समस्या भइरहेका बेला अहिले विद्युतीय गाडीलाई विकल्पको रुपमा हेरिएको छ । समाचार कनकमणि दीक्षितको फेसबुक पेजबाट प्राप्त जानकारीका आधारमा तयार गरिएको हो  ।