काठमाडौं – काठमाडौंको ठमेलस्थित एलओडी क्लब विश्‍वकै उत्कृष्ट एक सय क्लबहरुमध्ये ५२ औं स्थानमा परेको छ । केही समयअघि एलओडी डिजे म्याग टप १०० को मनोनयनमा परेको थियो । बेलायतस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५२ औं स्थानमा परेको हो ।


ADVERTISEMENT


म्यागमा विश्‍वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागिता रहने गर्दछ । डिजे म्यागले हरेक वर्ष विभिन्‍न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । उत्कृष्ट एक सय १०० क्लबको सूचीमा पर्न एलओडीले केही समयअघि भोट गर्न अपिल गरेको थियो । पहिलोपटक एलओडी सय क्लबको ५२ औं स्थानमा प्रवेश पाएको हो ।


ADVERTISEMENT

# # #


एलओडीका निर्देशक रबिन श्रेष्ठले एलओडी डिजे म्याग टप १०० को छनौट भएर ५२ औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँग–सँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको प्रतिक्रिया दिएका छन् । श्रेष्ठका अनुसार यो सूचीमा पाँच सय वटा क्लब सहभागी भएका थिए ।

बुधबार क्लबमा आयोजित पत्रकार सम्मेलनमा विश्‍वका सय वटा उत्कृष्‍ट सय क्लबको सयौँ भित्र छनौटमा पर्दा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिएको श्रेष्‍ठले बताए । ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो, श्रेष्ठले भने– ‘टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ ।’

सय वटा उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने श्रेष्ठको भनाइ छ । श्रेष्ठले अहिलेको उपलब्धिले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यो क्लबले थप आकर्षित गर्न सक्ने बताए ।

मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने निर्देशक श्रेष्ठको दावी छ । डिजेइङ क्षेत्रमा लाग्‍नेहरूका लागि खुसी खबर रहेको बताउँदै श्रेष्ठले व्यावसायिक रुपमा डिजेइङमा लाग्दा विश्‍वभर चिनिने अवसर प्राप्त हुने दावी समेत गरे ।

तीन वर्षअघि स्थापना भएको एलओडी ९ हजार ६ सय स्क्वायर फिटमा निर्माण भएको छ । एकसाथ २५ सय मानिस अट्न सक्ने एलओडीमा करिब १५० कर्मचारी कार्यरत छन् । एलओडीमा अन्तर्राष्ट्रिय डीजेहरु रोमियो ब्लान्को, ट्वीन रेभ रहेका थिए भने रेसिडेन्स डीजे रेडमस, सुरेन, नाड्ज, सरोज, अनिश र मनिटोनको रहेका छन् ।