काठमाडौँ– छिमेकी मुलुक चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बिहीबार नेपाल आउँदै छन्। रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आउन लागेको रक्षा मन्त्रालयले जनाएको छ।


ADVERTISEMENT


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुवाटारमा भोलि बिहीबार शिष्टाचार भेट गर्नेछन्। रक्षामन्त्री खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा बिहीबार नै भेटवार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


चिनियाँ रक्षामन्त्री चाङले नेपाली सेनाको उपत्यका पृतनाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नेछन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गर्नेछन्। उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले सोही दिन भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यसअघि सोही दिन बिहान मन्त्री चाङले सैनिक मुख्यालयमा प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग भेटवार्ता गर्नेछन्। रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकन भ्रमण गर्नेसमेत कार्यक्रम रहेको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका क्रममा आपसी हित, द्विपक्षीय चासो र सहयोगका बारेमा छलफल हुने रक्षा मन्त्रालयका प्रवक्ता उत्तमप्रसाद नागिलाले जानकारी दिए।

चिनियाँ रक्षामन्त्री चाङको उच्चस्तरको भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा थप उचाइ प्रदान गर्ने विश्वास प्रवक्ता नागिलाले व्यक्त गरे। नेपालको पूर्वाधार निर्माणमा चीनको सबैभन्दा ठूलो सहयोग रहँदै आएको छ । चीनले पछिल्लो समय नेपालका ऊर्जा, सडक सञ्जाल, प्रविधि तथा व्यापार क्षेत्रमा लगानी र सहयोग गरिरहेको छ ।