काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ चीनको हैनान प्रान्तको बोवाओमा मार्च २३ देखि २६, २०१७ मा आयोजना हुने बोवाओ सम्मेलनमा नेपालका तर्फबाट सहभागी हुन त्यस तर्फ जाँदैछन् ।


ADVERTISEMENT


प्रधानमन्त्री प्रचण्डको आजदेखि सुरु हुने चीन भ्रमणका क्रममा दुई देशबीच कुनै सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने भएको छ ।परराष्ट्र मन्त्रालयले हिजै पत्रकार सम्मेलन गरी भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध र सहायतामा सम्झौता गर्न नेपालले आवश्यक तयारी पूरा गरेको र निकट भविष्यमा हुने अन्य भ्रमणमा सहमति भई हस्ताक्षर हुने विश्वास व्यक्त गरिसकेको छ । ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको जुन समयमा चीन भ्रमण हुँदैछ, त्यो समयमा उनका काउन्टरपार्ट अर्थात चीनका प्रिमियर चीनमा हुने छैनन्, उनी अष्टे्रलिया र न्युजिल्याण्डको भ्रमणमा हुनेछन् । त्यतिबेला चीनका परराष्ट्रमन्त्री र रक्षामन्त्री पनि चीनमा हुने छैनन् । ‘हामीले ४/५ वटा विषयमा गृहकार्य गरेका थियौं । तर, अहिले सम्झौता नहुने भयो ।’ परराष्ट्रमन्त्री महतले भने, ‘हामी त अहिले नै तयार छौं । तर, चिनियाँ प्रधानमन्त्री र विदेशमन्त्रीको अनुपस्थितिको प्राविधिक कारणले मात्र नहुने भएको हो ।’

प्रचण्ड बेइजिङमा हुँदा चीनका प्रधानमन्त्री र विदेशमन्त्री अष्ट्रेलिया र न्यूजिल्याण्डको भ्रमणमा हुनेछन् । यस्तै चिनिया रक्षामन्त्री पनि बुधबारै नेपाल भ्रमणमा आउँदैछन् । त्यसैले प्रधानमन्त्रीको यो भ्रमण त्यती फलदायी हुने देखिदैन ।

मन्त्री महतका अनुसार नेपालले लगानी, क्रस बोर्डर इकोनोमिक जोन लगायतका विषयमा समझदारी तथा सम्झौताका लागि गृहकार्य गरेको थियो ।‘वान बेल्ट वान रोड’ अवधारणाका विषयमा पनि दुई देशबीच धेरै छलफल भएको उनले बताए । केनेक्टिभिटी (सडक र रेल)का साथै लगानी भित्र्याउँदा नेपाललाई फाइदा हुने भएपनि ‘फ्री ट्रेड’बारे थप अध्ययन भइरहेको उनले बताए ।

महतले भने, ‘हाम्रो निर्यात न्यून र आयात अथाह भएकाले यसमा थप अध्ययन गर्ने क्रममा छौं । हाम्रो आवश्यकता र स्वार्थ रक्षा गरेर मात्र अगाडि बढ्नुपर्छ ।’ उनका अनुसार सरकारले केपी ओली नेतृत्वको सरकारले चीनसँग गरेको समझदारी कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री महतसहित आज साँझ चीन जानेछन् । भ्रमण टोली सानो आकारको हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले ११ गते चीनका उपपप्रधानमन्त्रीलाई भेट्नेछन् भने १२ गते बोआओ फोरमलाई सम्बोधन गर्नेछन् ।चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डबीच १३ गते करिब १५ मिनेट भेटवार्ता हुने जनाइएको छ ।  सीसँगको भेटको भेटमा द्विपक्षीय सम्बन्ध बिस्तार र सुदृढ गर्ने विषयमा कुराकानी हुने मन्त्री महतले बताए ।

प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा नेपाल-चीन सम्वन्धबारे प्रवचन दिनेछन् । साथै चिनियाँ उद्योगीहरुलाई सम्बोधन गरेर आगामी १६ गते ल्हासा हुँदै स्वदेश फर्कनेछन् ।