काठमाडौं-दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा भोली हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जनाएको निर्वाचन आयोगले आज पनि मतदाता परिचय पत्र बितरण कार्य जारी राखेको छ ।


ADVERTISEMENT


भोली निर्वाचन हुने १५ हजार ३ सय ४४ मतदान केन्द्रबाटै आज दिनभर परिचय पत्र बितरणको काम जारी रहने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । भदौ ३ गतेसम्म मतदाता नामावली नाम दर्ता गरी भदौ ५ सम्म १८ वर्ष उमेर पुरा गरेका एवं नामावली सच्याएका मतदाताले आफ्नो परिचय पत्र वितरण गरिएको हो । बाँकी रहेका स्थानमा आज मतदानस्थल पनि निर्माण गरिसक्ने प्रवक्ता ढकालले बताए ।


ADVERTISEMENT

# # #


हरेक मतदान केन्द्रलाई लक्षित गरी सुरक्षा ब्यबस्था चुस्त पारिएको भन्दै उनले सादा पोशाकमा गस्तीपनि बढाइएकाले ढुक्क रहन मतदातालाई आग्रह गरेका छन् । निर्वाचन आचारसंहिता तथा मौन अबधिको पुर्ण पालना गर्न आग्रह गर्दै प्रवक्ता ढकालले मतदान स्थल वरपर निर्वाचन विरोधी अबाञ्छित गतिविधि नगर्न आब्हान समेत गरेका छन् ।

दोस्रो चरणको निर्वाचन अन्तर्गत १ सय २८ प्रदेश र २ सय ५६ प्रतिनिधि सभा सदस्यकालागि भोली बिहान ७ देखी साँझ ५ बजेसम्म मतदान हुँदैछ । ४५ जिल्लाका १५ हजार ३ सय ४४ मतदान केन्द्रमा हुने निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक १ लाख ५५ हजार कर्मचारी खटिएका छन्, भने चार तहको सुरक्षा ब्यबस्था मिलाईएको निर्वाचन आयोगले जनाएको छ । भोलीको निर्वाचन सकिएलगत्तै पहिलो चरणमा गत १० गते निर्वाचन भएका ३२ जिल्लाका ३७ प्रदेश र ७४ प्रदेशसभा सदस्यको मतगणना सुरु गर्ने आयोगको तयारी छ ।