काठमाडौँ – नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।


ADVERTISEMENT


प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि एमालेले यस विषयमा संसदीय समिति गठनको माग गरेको हो । बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न नसक्ने बताए ।


ADVERTISEMENT

# # #


विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर भएको आरोप उनले लगाए । उनले कर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गर्नु राष्ट्रघात र ठूलो वित्तीय अपराध भएको जिकिर गरे ।

त्यसअघि बैठकमा अर्थमन्त्री शर्माले बजेट तथा आर्थिक विधेयक तर्जुमा प्रक्रिया अन्तर्गत नै रहेर बनाइएको दाबी गरेका थिऐ । उनले अर्थसचिव र राजस्व सचिवको नेतृत्व र मातहतमा अन्य विभागीय प्रमुख कर्मचारीको तहमा विभिन्न स्तरमा छलफल भएर, सरोकारवालाबाट आएका सुझाव समेतलाई ध्यान दिएर प्रस्ताव बन्ने गरेको जिकिर गरे । अर्थमन्त्री शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्दै भ्रामक र झुटो कथा बनाइएको तर्क गरे ।

अर्थमन्त्रीको जवाफपछि एमालेका सांसदहरुले यस बिषयमा छानविन गर्नुपर्ने माग गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि संसद् चल्न दिन आग्रह गरेपनि एमालेका सांसदहरुले उठेर बिरोध गरेका थिए । एमालेको बिरोधपछि प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगीत गरिएको छ ।