काठमाण्डौं-दोस्रो चरणमा बिहीबार चुनाव हुने प्रदेश ५ का विभिन्न जिल्लामा मतदान तयारी पूरा भएको छ ।


ADVERTISEMENT


जिल्लास्थित निर्वाचन कार्यालयले आवश्यक सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा पठाएको जनाएको छ । सुरक्षा मजबुत तुल्याउन एकीकृत सुरक्षा योजना लागू गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धान निकाय एकीकृत ढंगले परिचालन गरिएको छ ।


ADVERTISEMENT

# # #


रूपन्देहीमा सबै सुरक्षा निकाय परिचालन गरेर सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । ‘एकीकृत सुरक्षा योजना लागू गरिएकाले सुरक्षा व्यवस्था सुदृढ छ,’ उनले भने, ‘निर्वाचनविरोधी गतिविधि र संलग्नलाई तत्काल नियन्त्रण गर्ने व्यवस्था मिलाइएको छ ।’

५९ दशमलव ७ किलोमिटर भारतसँग खुला सिमाना रहेको जिल्लामा २ सय ८ मतदानस्थल र ५ सय ९८ वटा केन्द्र छन् । यसका लागि ६ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘सुरक्षा चुनौती हुने गतिविधि हुन नदिन सचेत छौं,’ रूपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘यस्ता गतिविधि हुन नदिन दुवै मुलुकका सुरक्षा अधिकारीबीच आपसी सम्पर्क र समन्वयलाई निरन्तरता दिएका छौं ।’

संवेदनशील मानिएका केन्द्रमा बढी सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए । ‘पर्याप्त मात्रामा सुरक्षाकर्मी र कर्मचारी केन्द्रमा पुग्ने क्रम जारी छ,’ उनले भने, ‘ढुक्क भएर मतदान गर्न आग्रह गर्दछौं ।’ सोमबार निर्वाचन कार्यालयले ७० प्रकारका सामग्रीसहित मतदान अधिकृत र कर्मचारीलाई सम्बन्धित मतदान केन्द्रमा पठाइसकेको छ । सीमावर्ती क्षेत्र भएकाले स्थल तथा हवाई गस्ती बढाइएको छ ।