काठमाडौँ – सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने यू–१९ महिला टी–२० विश्वकप खेल्ने नेपालको सपना अधुरै रहने भएको छ । पहिलो पटक हुने यू–१९ महिला टी–२० विश्वकपका लागि एशियाली छनोटमा थाइल्याण्डसँग हारेसँगै नेपाल विश्वकप सपनाबाट बाहिरिएको हो ।


ADVERTISEMENT


मंगलबार नेपालले थाइल्याण्डसँग ४९ रनको हार व्यहोरेको हो । मलेसियाको यूकेएम वाईएसडी मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको थाइल्याण्ड यू–१९ महिला टोलीले निर्धारित २० ओभरमा ७ विकेठ गुमाएर ८९ रन बनायो ।


ADVERTISEMENT

# # #


९० रनको जवाफी ब्याटिङमा उत्रिएको नेपाली यू–१९ महिला टोलीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ४० रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । सृष्टी जैसीले ७, साना प्रविनले ६ र अनु कडायतले ५ रन बनाए । नेपालले ११ रन अतिरिक्त पाएको थियो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा थाइल्याण्डकी नान्थिता बुन्सुखामले सर्वाधिक ३ विकेट लिइन् । त्यसक्रममा उनले ४ ओभरमा १ मेडेन ओभर गर्दै ९ रन मात्रै खर्चिइन् । यस्तै प्रोन्नाफा सेइहोई र थाङ्यालाक चुङनानले समान १–१ विकेट हात पारे । नेपालले ५ विकेट रन आउटका रुपमा गुमाएको थियो ।

यसअघि थाइल्याण्डका लागि थिपात्चा पुत्थाओङले सर्वाधिक २० तथा बान्थिदा लिफात्थानाले १९ र सिवानान खियाओतोले १६ रन जोडे । नेपालका लागि कप्तान कृतिका मरासिनी र मनिसा कुमारी उपाध्यायले समान २–२ विकेट लिए । स्नेहा महराका नाममा १ विकेट रह्यो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ७९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईविरुद्ध ८ रनमै अलआउट हुँदै १० विकेटको लज्जास्पद हार व्यहोरेको थियो । तेस्रो खेलमा भने नेपालले भुटानलाई ४ विकेटले हराएको थियो ।