रूपन्देही – रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।


ADVERTISEMENT


नेकपा एमालेका उम्मेदवार मोहन चापागाईंलाई झिनो मतले पराजित गर्दै खाण विजयी भएका हुन् । उनले २४ हजार ३९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका चापागाईंले २३ हजार ६३१ मत प्राप्त गरेका थिए । ७६५ मतको अन्तरले खाण विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


उपप्रमुखमा भने नेकपा एमालेकी जगेश्वरदेवी चौधरी विजयी भएकी छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका हेमन्त पाण्डेलाई ११ हजार मतान्तरले पराजित गर्दै चौधरी विजयी भएकी हुन् । कांग्रेसका रुपन्देही जिल्ला सभापति समेत रहेका गृहमन्त्री बालकृष्ण खांणका सहोदर भाई रामकृष्ण खांण २०७४ सालको निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग दुई हजार सातसय मतान्तरले पराजित भएका थिए ।

८५ हजार मतदाता रहेको तिलोत्तमामा कुल ६४ हजार ७०७ मत खसेको थियो । तिलोत्तमा एमाले नेता घनश्याम भुसालको गृहनगर हो भने एमाले उपाध्यक्ष विष्णु पौडेलको पनि निर्वाचन क्षेत्र पनि पर्दछ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मतदान गरेको क्षेत्र समेत हो । तिलोत्तमामा २०७४ सालमा एमालेले प्रमुख र उपप्रमुख सहित १३ वडाअध्यक्ष जितेको थियो ।

यसपटक भने काँग्रेसले नौ र एमालेले सातवटा वडाअध्यक्ष जितेको छ । वडा नं १, ४, ७, १०, ११, १२ र १५ मा नेकपा एमालेले बिजय हासिल गरेको छ भने वडा नं २, ३, ५, ६, ९, १३, १४, १६ र १७ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । तिलोत्तमामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।