काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले हुन नसकेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै ओलीले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप समेत लगाए । उनले एमालेलाई पत्तासाफ गरिदिने सत्ता गठबन्धनको घोषित नीति नै भएको भन्दै बुथ नै कब्जा गरेर सत्तापक्षले चुनाव जितेको उल्लेख गरे । उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, सत्तापक्षले बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेर बसेको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


ओलीले गठबन्धनले निर्वाचन गर्न नचाहिरहेको अवस्थामा एमालेको दवावका कारण निर्वाचन सम्भव भएको तर्क गरे । ओलीले अहिले निर्वाचनमा धाँधली गर्ने कुरामा नयाँ कीर्तिमान नै कायम भएको धारणा राखे । उनले एमाले शसक्त पार्टी भएकाले आम निर्वाचनपछि सरकारमा आउने दाबी गरे । नीति तथा कार्यक्रममा सबै नेपाली बिच सद्भाव र सहमति हुने उल्लेख गरिएको तर प्रतिपक्षीलाई सिद्धाउने गठबन्धनको नीति मेल नखाएको उनले बताए ।

ओलीले सरकारको नीति तथा कार्यक्रम गन्तव्यबिहिन भएको र जनता अल्मल्याउने कुरा मात्र राखिएको बताए । सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक बर्षको बजेट आए मुलुकको आर्थिक क्षेत्र थप संकटमा पुग्ने उनले बताए ।

ओलीले सरकारको कार्यक्रममा पपुलिस्ट, गैरजिम्मेवार, अनुत्तरदायी प्रवृत्ति र अर्थतन्त्रमाथी खेलबाड गर्ने प्रवृति बजेटले पुष्टि गर्ने देखिएको तर्क गरे । त्यस्तै उनले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको भ्रमणका क्रममा सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको आरोप लगाए । नेपाल एक चीन नीतिमा छ कि छैन भन्ने बिषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने उनले बताए ।

ओलीले निर्वाचन सम्पन्न हुनेबितिकै मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दिएको आरोप लगाए । उनले वर्तमान सरकार बनेपछि मुल्यवृद्धिले नकारात्मक कीर्तिमान कायम गरेको धारणा राखे ।