काठमाडौँ– काठमाडौँ महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले विश्वासको सन्दर्भमा हार र जित नहुने बताएका छन् ।


ADVERTISEMENT


जारी मतगणनामा अन्य प्रतीस्पर्धीको तुलनामा २० हजारभन्दा बढी मत प्राप्त गरेका साहले बुधवार सामाजिक सञ्जालमार्फत सो धारणा व्यक्त गरेका हुन् । यसका साथै उनले आफुलाई मत तथा समर्थन दिएर साथ दिनेप्रति कृतज्ञता समेत जनाएका छन् ।


ADVERTISEMENT

# # #


एउटा लामो स्टाटस पोष्ट गर्दै उनले लेखेका छन्, ‘स्थानिय निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सक्छौ कि हामी काठमाडौँ महानगरको जिम्मेवारी बोक्न सक्षम छौँ भनेर महानगरका मतदात्ताहरुले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुदैँन ।’

यस्तै, उनले हारजितलाई मतगणना गरेकै दिनसम्मकै लागि मात्रै सिमित राख्न समेत आग्रह गर्दै थप लेखेका छन्, ‘जित र हारलाई मतगाणना सकिएसंगै सकिदिउँ । घोषणा पत्रमा भएका सबै कुराहरु लागु भएको दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर, अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ ।’

आफुलाई मत दिनेहरुको शिर उँचो बनाउने भन्दै उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । यसका साथै अन्य ठाउँबाट र्‍यालीका लागि आउन लागेकालाई नआउन आग्रह गर्दै उनले यो सबैको अभियान भएकाले यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए आफु खुसी हुने जनाएका छन् ।

बरु त्यसको साटोमा धन्यवाद र्‍याली गर्न भन्दै उनी थप लेख्छन्, ‘अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा ‘धन्यवाद र्‍याली’ गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ‘बालेन’ हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।’

यस्तै, आफुलाई साथ र सुझावसंगै खबरदारीको पनि खाँचो पर्ने बताउँदै उनले बाटो बिराएमा खबरदारी समेत गर्नु भन्दै अन्त्यमा लेखेका छन्, ‘हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।’