काठमाण्डौं-मुगुमा भाइरल ज्वरोका कारण एक सातामा १८ जनाको मृत्यु भएको छ । अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ ।


ADVERTISEMENT


‘जिल्लाका सबैजसो गाउँमा फैलिएको रुघाखोकी, निमोनियाँ र भाइरल ज्वरोका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् । गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ । रुघाखोकीले गाउँ निकै प्रभावित बनेको छ,’ छायानाथ रारा नगरपालिका १ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एक हप्तायता गाउँमा निमोनियाँ र ज्वरोका कारण पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको उनले बताए ।
यसै साता छायानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ ।

त्यस्तै वडा नम्बर ७ मा एक जना एक वर्षीय बालक र एक जना ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्ता यता पाँच जनाको मृत्यु भएको स्थानीयवासी धिरेन्द्र भामले बताए ।

यता खत्याड गाउँपालिकाका सबै गाउँमा ज्वरोको प्रकोप फैलिएको छ । सबैभन्दा बढी बालबालिका र बृद्धबृद्धा प्रभावित भएको स्थानीय वीर्खबहादुर थापाले जानकारी दिए ।

शुक्रबारसम्म ६ जनाको मृत्यु भएको उनले जानकारी दिए । यो साताभित्र रिगा गाउँका ६५ वर्षीय बिउरासर पाण्डे, ४४ वर्षीय बिष्णु जैसी र ७५ वर्षीय ऋषिसन्न उपाध्याय र सुकाढिक गाउँकी ५५ वर्षीय पूर्वा कार्कीको मृत्यु भएको हो ।