काठमाडौं – स्थानीय तहको निर्वाचनका परिणामहरु आइरहँदा नेकपा एमालेलाई ठूलो चोट परेको छ । वर्षौंसम्म एमालेले जित्दै आएको गढहरुमा समेत यसपटक एमाले नराम्ररी पछारिएको छ ।  गत चैत्र १७ मा जुम्लामा एमालेले विशाल सभा आयोजना गरेको थियो, जसलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । जुम्लामा एमाले सभामा देखिएको भीडलाई पार्टी र अध्यक्ष ओलीप्रतिको आकर्षणको रूपमा एमालेले प्रचारसमेत गरेको थियो ।


ADVERTISEMENT


जुम्लाको सिञ्जा गाउँपालिकाको उक्त सभालाई सम्बोधन गर्दै ओलीले सिञ्जाको विकास गर्न सक्दो सहयोग गर्ने वचन दिएका थिए । तर, स्थानीय तहको निर्वाचनमा भने जुम्लाका जनताले एमालेलाई पत्याएनन् । चैत्र १७ को त्यो सभा ओलीलाई हेर्न आएको भीड मात्रै रहेछ, उनीहरूले ओली र एमालेको कुरा पत्याएनन् भन्ने कुरा निर्वाचनको परिणामले बताएको छ ।


ADVERTISEMENT

# # #


जुम्लामा रहेका आठ स्थानीय तहमा एमालेले एउटा पनि जित्न सकेन । जुम्लामा कांग्रेसले ५ र माओवादी केन्द्रले दुई स्थानीय तहमा जितेका छन् । बरू जुम्लामा पनि स्वतन्त्र उम्मेदवारले जीत निकालेका छन् । एमाले शून्यमा सीमित भयो । जुम्ला एउटा उदाहरण हो, एमालेले चुनावअघि यस्ता प्रशस्त सभा गरेको थियो । जहाँ हजारौंको भीड हुन्थ्यो, जसलाई एमालेले जनताले आफूलाई पत्याएको अर्थमा बुझेको थियो । त्यसबाहेक, चुनावअघि एमालेले विभिन्न पार्टीबाट प्रशस्त मान्छे पनि भित्र्याएको थियो । तर, त्यो चुनावी परिणाममा बदलिन सकेन ।

अघिल्लो चुनावमा २९४ स्थानीय तहमा जितेर पहिलो पार्टी बनेको एमाले यसपटक भने दोस्रो स्थानमा ओर्लिएको छ । अघिल्लो चुनावमा ३९ प्रतिशत स्थानीय तहमा नेतृत्व जितेको एमाले यसपालि ३० प्रतिशतभन्दा तल ओर्लिने देखिएको छ ।

चुनावअघि एमालेले राखेको अन्तिम केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै तथ्यांक प्रस्तुत गरेका थिए, ‘एमालेको सक्रिय सदस्य संख्या साढे ८ लाख छ । मंसिरमा भएको १० औं महाधिवेशन यता विभिन्न पार्टीबाट ३ लाख प्रवेश गराएका छौं । एमालेको सदस्य संख्या साढे ११ लाख पुग्यो । यो बलमा स्थानीय तह निर्वाचनमा ६० प्रतिशत सिट जित्छौं ।’

शनिबार मध्यान्नसम्मको नतिजा अनुसार, एमालेले १८७ स्थानीय तहको प्रमुख जितेको छ भने २०८ स्थानीय तहमा उपप्रमुख जितेको छ । १९ स्थानीय तहको मतगणनामा एमाले अगाडि छ । यी सबै स्थानीय तह एमालेले जित्छ भन्ने मान्दा पनि एमालेले जित्ने स्थानीय तहको संख्या २०६ मात्रै हुन्छ । यो कुल स्थानीय तहको २७ प्रतिशत हो । ओलीले दाबी गरेको ६० प्रतिशतको आधाभन्दा कम स्थानीय तह मात्रै एमालेले जित्न सक्यो ।

२०७४ को चुनावमा २९४ स्थानीय तहमा एमालेले जितेको थियो । यो कुल स्थानीय तहको ३९ प्रतिशत हो । यस वर्षको निर्वाचनमा एमाले करीब १२ प्रतिशत सिट गुमाएर दोस्रो दल भएको छ । कांग्रेस सर्वाधिक सिट जितेर पहिलो दल बनेको छ ।

एमालेको विरासत ढलेका केहि महत्वपूर्ण स्थानहरु

धादिङ

राजधानी काठमाडौंसँग जोडिएको धादिङलाई एमालेको ‘लाल किल्ला’ मानिन्थ्यो । २०७० को संविधानसभा चुनावका बेला धादिङमा तीनवटा निर्वाचन क्षेत्र थियो । त्यसबेला एमालेले तीनवटै निर्वाचन क्षेत्रमा एकलौटी जितेको थियो ।

संविधान बनेपछि स्थानीय तह पुनःसंरचना भयो । धादिङमा १३ स्थानीय तह बने । संघीय निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र बन्यो ।२०७४ को स्थानीय चुनावमा १३ मध्ये ८ स्थानीय तहमा एमालेले जितेको थियो । त्यही वर्षको प्रतिनिधि सभाको चुनावमा पनि दुईवटै निर्वाचन क्षेत्रमा एमालेले विरासत कायम गरेको थियो ।

यसपटक भने धादिङमा एमालेको किल्ला ढल्यो । एमालेले धादिङमा दुईवटा स्थानीय तहको अध्यक्ष मात्रै जित्यो । एमालेको जितेको गल्छी र थाक्रे गाउँपालिकाको उपाध्यक्ष र वडा अध्यक्षमा अन्य पार्टीकै बाहुल्य छ ।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा

एमालेको प्रभाव रहेका जिल्लाहरू काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखामा पनि स्थानीय तहको चुनावमा एमाले खुम्चिएको छ । काभ्रेको १३ स्थानीय तहमध्ये एउटा धुलिखेल नगरपालिकामा मात्रै एमालेले जित निकाल्न सक्यो । पाँचखाल नगरपालिकाको नतिजा आउन बाँकी छ । २०७४ मा पाँचखाल नगरपालिका कांग्रेसले जितेको थियो । एमालेका चल्तापूर्जा नेता गोकुल बाँस्कोटाको जिल्ला हो, काभ्रे ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तह मात्रै जित्न सक्यो । एमालेको बलियो प्रभाव रहेको मेलम्ची र बाह्रबिसे नगरपालिका, जुगल, बलेफी, लिसंखुपाखर र त्रिपुरासुन्दरी गाउँपालिका एमालेले गुमायो । २०७४ मा हारेको सुनकोशी र इन्द्रवती गाउँपालिकाको नेतृत्व भने यसपटक एमालेले फिर्ता लिएको छ ।

देशभरमै सबैभन्दा बढी एमाले कार्यकर्ता रहेको सिन्धुपाल्चोकमा स्थानीय तहको चुनावमा एमाले तेस्रो दलमा खुम्चियो । एमालेको अर्को बलियो किल्ला थियो, दोलखा । यसपटक एमालेले दोलखामा दुईवटा स्थानीय तह मात्रै जित्न सक्यो । सधैँ जितिरहेको सदरमुकामको भीमेश्वर नगरपालिका नै एमालेबाट फुत्कियो । दोलखामा नौ स्थानीय तह छन् ।

नुवाकोटको विदुर र तारकेश्वर 

नुवाकोटमा एमालेले विदुर र बेलकोटगढी दुवै नगरपालिकामा नेतृत्व गुमायो । तारकेश्वर गाउँपालिकाजस्तो गढमा पनि पराजित भयो ।नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये एमालेले किस्पाङ गाउँपालिका मात्रै जितेको छ । यो पनि एमालेले माओवादी केन्द्रसँग तालमेल गरेर जितेको हो ।

लुम्बिनी प्रदेशका जिल्लाहरु

एमालेको लाल किल्ला मानिएको लुम्बिनी प्रदेशका धेरै स्थानीय तहमा एमालेको कन्तबिजोग भएको छ । एमालेलाई कसैले हल्लाउन नसक्ने मानिएको बुटवल उपमहानगरपालिका नै यसपटकको चुनावमा एमालेले जोगाउन सकेन । भारी मतान्तरले कांग्रेसका खेलराज पाण्डे मेयर चुनिएका छन् ।

बुटवल एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र पनि हो । त्यहाँ उनको बलियो प्रभाव रहेको मानिन्थ्यो । रुपन्देहीका १६ स्थानीय तहमध्ये अहिलेसम्म एमालेले ३ वटा स्थानीय तह मात्रै जित्न सकेको छ । लुम्बिनी प्रदेशमा एमालेको अर्को गढ थियो, गुल्मी । गुल्मी एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको जिल्ला पनि हो । एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएकी रामकुमारी झाँक्रीको जिल्ला पनि गुल्मी नै हो ।

गुल्मीको मदाने, मालिका, रुरू र इस्मा गाउँपालिकालाई एमालेको गढ मानिन्थ्यो । तर, यी सबै गाउँपालिका स्थानीय चुनावमा एमालेले गुमायो । गुल्मीको १२ स्थानीय तहमध्ये एमालेले ३ स्थानीय तह मात्रै जित्न सकेको छ ।

सुनसरीको धरान उपमहानगर

नेपालको कम्युनिस्ट आन्दोलनमा चीनको सांघाईजस्तो मानिने सुनसरीको धरान उपमहानगरको एमालेको विरासत यस वर्षको चुनावमा पनि फर्किन सकेन ।

अघिल्लो चुनावमा एमाले तारा सुब्बाले चुनाव जितेका थिए । कार्यकालको एकतिहाइ समय पनि नबित्दै उनको निधन भएपछि २०७६ मा भएको उपचुनावमा कांग्रेसले जित्यो । यसपटक एमालेले आफ्नो विरासत फर्काउने बताउँदै आएको थियो । तर, मतगणनाका क्रममा एमाले धरानमा तेस्रो स्थानमा छ ।

पूर्वी नेपालका जिल्लाहरु र झापाको दमक नगरपालिका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा विजयी भए । अघिल्लोपटक क्लिनस्विप गरेको धनकुटामा यसपालि एमाले तीन स्थानीय तहमा सीमित भयो । तेह्रथुम, भोजपुर, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लामा पनि एमालेका लागि सुखद नतिजा रहेन ।

केपी ओलीको बसोबास रहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को वडाध्यक्ष पनि एमालेले जित्न सकेन । सूर्यविनायकको प्रमुख तथा उपप्रमुख भने एमालेले जितेको छ । ओलीको निवास रहेको वडा भने कांग्रेसले जितेको छ ।

सुदुरपश्चिम प्रदेश: डोटी, कैलाली र कञ्चनपुर

सुदुरपश्चिम प्रदेशका डोटी, कैलाली र कञ्चनपुरमा अघिल्लो चुनावमा एमालेले उत्कृष्ट नतिजा निकालेको थियो । तर, यसपटक भने ती जिल्लामा एमाले नराम्रोसँग खुम्चिन बाध्य भयो । कैलालीको १३ स्थानीय तहमध्ये एमालेले दुई वटा गाउँपालिकामा मात्रै चित्त बुझाउन बाध्य भएको छ ।

टीकापुर

कैलालीको टीकापुर, लम्की र घोडाघोडी एमालेको बलियो आधार भएको ठाउँ थियो । तर, यसपटक एमाले ती तीनै स्थानीय तहमा पराजित भयो । अघिल्लो चुनावमा एमालेको जितेको प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिका पनि एमालेको कब्जाबाट फुत्किएको छ । कर्णाली प्रदेशको कालिकोटमा एमालेको जीत शून्य भएको छ ।

हारपछि पनि आउनुपर्ने मत आएको नेताहरुको दाबी

नेकपा एमालेका नेताहरूले भने अरू पार्टीसँग थोरै मतान्तर रहेको ठाउँमा गठबन्धनका कारण एमाले पराजित भएको दाबी गरेका छन् । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको देशभरको कुल मत नबिग्रिएको र अन्य पार्टीभन्दा थोरै मतले अगाडि रहेको ठाउँमा अरू पार्टीले गठबन्धन गरेकाले एमाले हारेको बताए ।

उनले भने, ‘हाम्रो समग्र जनमत यथावत छ । तर पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरूमा एउटा अर्को पार्टी थपिने बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भयो । हाम्रो जुन औसत जनमत हो त्यो यथावत छ ।’

एमालेका सचिव योगेश भट्टराईले भने एमालेविरूद्ध सत्ताको दुरूपयोग भएकाले हारेको प्रतिक्रिया दिएका छन् । त्यसबाहेक, एमालेभित्रै आन्तरिक कारणले पनि क्षति पुगेको उनले बताए ।

भट्टराईले भने, ‘एमाले हार्नुका आन्तरिक कारण पनि छन् । उम्मेदवार छनौटमा कतिपय ठाउँमा हाम्रो गल्ती भएको देखिन्छ । उम्मेदवारी दिइसकेपछि त्यो उम्मेदवारको पक्षमा जसरी पार्टी पंक्ति एकताबद्ध भएर लाग्नुपर्ने हो कतिपय ठाउँमा त्यो देखिएन । एमालेकै पनि कतिपय ठाउँमा बागी उम्मेदवारहरू देखिए । आफ्नो उम्मेदवारलाई मत नहाल्ने । विरोधी उम्मेदवारहरूसँग साँठगाँठ गर्ने प्रवृत्ति पनि देखियो ।’

भीम रावलको फरक मत 

एमालेका नेता भीम रावलले भने एमालेको विभाजन नै चुनाव हार्नुको मुख्य कारण भएको बताए । ‘एमालेले चुनाव हार्नुमा पार्टी विभाजनदेखि विभिन्न कारणहरू छन् । पार्टीको विभाजन, जनतामा देखिएको राजनीतिक दलहरूप्रतिको वितृष्णा आदि एमालेको चुनावी हारसँग सम्बन्धित छन्’, रावलले भने ।

कतिपय ठाउँमा राजनीतिक दलहरूप्रति जनताको वितृष्णा देखिएको रावलले बताए । राजधानी काठमाडौं, धरान, धनगढी र जनकपुरमा दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारले धेरै मत ल्याएको तथ्यलाई हेर्दा मुख्य शहरमा दलप्रति जनताको वितृष्णा बढेको निष्कर्षमा पुग्न सकिने रावलले बताए । एमालेभित्रै देखिएको अन्तर्घातले पनि चुनावी नतिजा प्रभावित भएको उनले बताए ।