बागलुङ– स्थानीय तह निर्वाचन २०७९ को अन्तिम मतपरिणाम सार्वजनिक हुँदा बागलुङमा नेपाली कांग्रेस छ स्थानीय तहमा जीत हासिल गरेर पहिलो शक्ति बनेको छ । जिल्लाको बागलुङ र गलकोट नगरपालिका , काठेखोला , बडीगाड, तमानखोला र निसीखोला गाउँपालिका कांग्रेसले जितेको हो ।


ADVERTISEMENT


त्यस्तै राष्ट्रिय जनमोर्चाले दुई वटा स्थानीय तहको प्रमुख जितेको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिका सो पार्टीले विजय हासिल गरेको हो । यसैगरी नेकपा (माओवादी केन्द्र)ले ताराखोला गाउँपालिका रे ढोरपाटन नगरपालिको जितेको छ ।


ADVERTISEMENT

# # #


यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका चार स्थानीय तहको प्रमुख र दुई वटा स्थानीय तहमा एमालेले उपप्रमुख जितेको थियो । जिल्लामा रहेका १० स्थानीय तहमध्ये छ स्थानीय तहमा नेपाली कांग्रेसले प्रमुख पदमा जीत हासिल गरेको छ । यसअघि चार स्थानीय तहमा मात्रै कांग्रेसले प्रमुख पद पाएको थियो । बागलुङमा वसन्तकुमार श्रेष्ठ, काठेखोलामा राजु थापा, गलकोटमा भरत शर्मा गैरे, बडीगाडमा गण्डकी थापा अधिकारी, तमानखोलामा जोकलाल बुढा र निसीखोलामा सूर्यबहादुर घर्ती कांग्रेसले पाएका प्रमुख हुन् ।

यसअघि जैमिनी, गलकोट , निसीखोला र तमानखोला गाउँपालिकामा कांग्रेसले प्रमुख पदमा नेतृत्व गरेको थियो । अघिल्लो पटकको स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये आठ स्थानमा मात्रै जितेको कांग्रेसले यसपटक ११ स्थानमा जीत हासिल गरेको छ । ताराखोला, तमानखोला र बरेङ गाउँपालिका , जैमिनी र ढोरपाटन नगरपालिकामा कांग्रेसले उपप्रमुखमा जितेको छ । जैमिनीमा पार्टी सचिव हरिहर शर्मा उपप्रमुख हुँदा ढोरपाटनमा धनबहादुर कायतले उपप्रमुखमा जीत हासिल गरेका छन् ।

तमानखोलामा कांग्रेसका हीराकुमारी छन्त्याल उपाध्यक्षमा निर्वाचित भइन् भने बरेङमा दिलीपकुमार पुन र ताराखोलामा भीमबहादुर रोकाले जीत हासिल गरे ।

जैमिनीको प्रमुख जितेको राजमोले बरेङ गाउँपालिकामा अध्यक्ष र काठेला तथा बडीगाड गाउँपालिकामा उपाध्यक्ष जितेको छ । जैमिनीमा नरबहादुर पुन र बरेङमा कृष्णप्रसाद शर्मा अध्यक्षमा निर्वाचित भए । राजमोबाट काठेखोलामा तिलक पुन र बडीगाड गाउँपालिकामा भीमसेन वनले उपाध्यक्ष जितेका छन् । ताराखोलाको अध्यक्ष जितेको माओवादी केन्द्रले बागलुङको उपप्रमुख, गलकोटको उपप्रमुख र निसीखोला गाउँपालिकाको उपाध्यक्ष जितेको छ ।

ताराखोलामा धनबहादुर विक हिमालले अध्यक्षमा निर्वाचित भएका छन्, भने गलकोट नगरपालिकामा फमलाल न्यूरे र बागलुङ नगरपालिकामा राजु खड्काले उपप्रमुख जिते ।

अघिल्लो निर्वाचनमा बागलुङमा प्रमुख र उपप्रमुखमध्ये कांग्रेसले आठ, नेकपा एमालेले छ, राजमोले तीन र माओवादी केन्द्रले दुई सिट र राप्रपाले एक सिट जितेका थिए । एमालेले जितको विरासत जोगाउन नसक्दा गठबन्धनका दलले आफ्ना सिट बढाएका हुन् ।

बागलुङमा सबैभन्दा बढी वडामा नेपाली कांग्रेसले जीत हात पारेको भने कम वडा राष्ट्रिय जनमोर्चाले जितेको छ । कांग्रेसले ३७ वडा जित्दा जनमोर्चाले ११ वडा जितेको छ ।

एमालेले १६ वडा, माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले तीन वडा जितेको छ भने स्वतन्त्र उम्मेदवारले एक वडा जितेका छन् । रासस