काठमाडौँ – धादिङमा थाँक्रे गाउँपालिकाबाहेक सबै पालिकाको चुनावी नतिजा प्राप्त भएको छ । पछिल्लो तथ्याङ्कअनुसार नीलकण्ठ नगरपालिकाको प्रमुखमा भीम ढुङ्गाना र उपप्रमुखमा दीपक विश्वकर्मा विजयी भएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेसका ढुङ्गानाले १४ हजार ५७५ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार गङ्गादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरिन् । ढङ्गाना यसअघि पनि नगरप्रमुख थिए ।


ADVERTISEMENT

# # #


नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का विश्वकर्माले ९ हजार ६९३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार फन्द्रा तामाङले ७ हजार ९१३ मत प्राप्त गरे । नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्र र कांग्रेस गठबन्धन गरी चुनाव लडेका थिए ।

धुनीबेँसी नगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का बालकृष्ण आचार्य विजयी भए । आचार्यले ८ हजार ७०६ मत ल्याई विजयी भए भने निकटम प्रतिद्वन्द्वी एमालेका रामराजा पाण्डेले ६ हजार ५९२ मत ल्याए ।

यस्तै उपप्रमुखमा गठबन्धन उम्मेदवार कांग्रेसका सुरज उप्रेतीले ८ हजार ३८७ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मन्दिरा श्रेष्ठले ५ हजार ४७० मत पाए ।

गङ्गाजमुना गाउँपालिकाको प्रमुखमा भक्त लामा र उपप्रमुखमा माओवादी केन्द्रका रामेश्वर सिम्खडा विजयी भएका छन् । दुवै गठबन्धनका उम्मेदवार हुन् । गाउँपालिका अध्यक्षमा विजयी लामाले ६ हजार २६२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर लामिछानेले चार हजार ५० मत ल्याएका छन् । त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सिम्खडाले पाँच हजार ३८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एञ्जिला तामाङले चार हजार १९६ मत प्राप्त गरे ।

त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु उप्रेती र उपाध्यक्षमा माओवादी केन्द्रका देवराज धरेल विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा उप्रेतीले ६ हजार ७७१ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार थापाले ५ हजार १२६ मत प्राप्त गरे । यस्तै उपाध्यक्ष धरेलले छ हजार ३४ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सङगीता कुमालले पाँच हजार २१० मत प्राप्त गरिन् ।

मध्य धादिङको सिद्धलेक गाउँपालिकामा अध्यक्षमा कांग्रेसका परशुराम खतिवडा र उपाध्यक्षमा एकीकृत समाजवादीका सर्वता अर्याल विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा खतिवडाले सात हजार ९५६ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रेमनाथ सिलवालले ६ हजार १७१ मत ल्याए । उपाध्यक्ष अर्यालले सात हजार ३६२ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार कमला शर्माले ६ हजार २१२ मत प्राप्त गरेकी छन् ।

गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा र उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी, गजुरी गाउँपलिका अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका शर्मिला बिसुराल, बेनिघाट रोराङ गाउँपालिका माओवादी केन्द्रका कृष्णबहादुर थपलिया विवेक र उपाध्यक्षमा एकीकृत समाजवादीका टोपबहादुर श्रेष्ठ, ज्वालामुखी गाउँपालिका अध्यक्षमा कांग्रेसका यमनाथ दनै र उपाध्यक्षमा एकीकृत समाजवादीका धर्म अर्याल विजयी भएका छन् ।

यसैगरी रुबीभ्याली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रामसिंह तामाङ, उपाध्यक्षमा कांग्रेसका सेकेमान तामाङ, खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मेघनाथ कोइराला, उपाध्यक्षमा नेपाली कांग्रेसका सीतामाया गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ ।

थाँक्रे गाउँपालिकाको मतगणना भइरहेको छ । वडा नं ९, १०, ११ को मतगणना सकिएपछि प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएको छ । एघार गाउँपालिका र दुई नगरपालिका भएको धादिङमा कांग्रेसले पालिका प्रमुख सात र उपप्रमुख पाँच, माओवादी केन्द्रले पालिका प्रमुख तीन र उपप्रमुख चार, एकीकृत समाजवादीले पालिका प्रमुख एक र उपप्रमुख तीन र नेकपा एमालेले एक पालिका प्रमुख विजय हासिल गरेको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धन र नेकपा एमालेले चुनावी प्रतिस्पर्धा गरेको थियो ।