काठमाडौँ – निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ ।


ADVERTISEMENT


आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केही स्थानमा दल र उम्मेदवारहरूका कारण विवाद भई मतदान अवरुद्ध भएको र स्थगनको विस्तृत विवरण आउन बाँकी रहेको जनाउँदै अधिकांश स्थानमा मतदान सम्पन्न भएको बताए । उनले साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिए पनि सो समयमा मतदान केन्द्रमा प्रवेश गर्ने मतदातालाई मतदान गर्न दिइने भएकाले कूल खसेको मत यकिन सङ्ख्या र प्रतिशत प्राप्त भइनसकेको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


वर्षाका कारण मतदानमा कुनै गम्भीर असर नपरेको र खटिएका सुरक्षाकर्मी र कर्मचारीबाट आयोगलाई यथेष्ट सहयोग मिलेको बताउँदै प्रवक्ता शर्माले उनीहरु सबैलाई धन्यवाद दिए। एक प्रश्नको जवाफमा प्रवक्ता शर्माले मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफलपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिए।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवाद भएका कारण मतदान कार्य अवरुद्ध भएको थियो । अवरुद्ध भएका स्थानमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् ।