काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि देशभर ६४ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार देशभर ६४ प्रतिशत मतदान भएको हो ।


ADVERTISEMENT


शुक्रबार मतदान सम्पन्न भएपछि पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको अपेक्षा अनुसार मतदान नभएको बताएका हुन् । ‘यो प्रारम्भिक अनुमान हो, यसमा बढोत्तरी हुनेछ भन्ने हामीले अपेक्षा पनि गरेका छौँ ।’ उनले भने, ‘६४ प्रतिशत मतदान भएको अहिले प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने हामीलाई लागेको छ ।’


ADVERTISEMENT

# # #


उनले बढी मतदाता रहेका ठाउँमा कम मतदान हुँदा देशभरको अनुपातमा त्यसले असर पारेको उनले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार काठमाडौँमा कम मतदान हु्ँदा त्यसले देशव्यापी रुपमा अंक घटेको हो । उनले भने, ‘काठमाडौँ महानगरको मतदानको स्थिति यस्तो शान्तिपूर्ण अवस्था, मतदान केन्द्रमा स्पष्ट पहुँच र सबै सुविधा हुँदाहुँदै पनि प्रारम्भिक अनुमान अनुसार ५२ प्रतिशत मात्रै मतदान भएको छ । यो त्यती सन्तोषजनक हामीलाई लागिराखेको छैन ।’

सबै भन्दा धेरै मतदान भएका जिल्लामा ७४–७५ प्रतिशत मतदान भएको छ भने सबैभन्दा कम मतदान भएका जिल्लामा ५० प्रतिशतको हाराहारीमा मतदान भएको छ । आयोगले ६५ देखि ७२ प्रतशित हाराहारीमा मतदान हुने सुरुवाती अनुमान गरेको उनले बताए । यद्दपी यो प्रारम्भिक विवरण मात्रै भएकाले भोलिसम्म बढ्नसक्ने उनले जनाए ।

यस्तै १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदानस्थलका ४४ वटा मतदान केन्द्र मतदान स्थगित भएको छ । थपलियाले भने, ‘आज निर्वाचनको दौरानमा विभिन्न जिल्लाहरुमा विभिन्न किसिमका छिटपुट घटना र केही टाउँमा अप्रिय घटना समेत भए । यसकारणले आज सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षाका बाबजुत अहिलेसम्म १४ जिल्लाका १७ स्थानीय तहका २८ मतदानस्थलका ४४ वटा मतदान केन्द्र मतदान स्थगन भएको अवस्था छ ।’

उनले राजनीतिक दल तथा उम्मेदवारका बीचमा भएको आपसी विवाद र अत्यन्त साना विषयमा पनि विवाद झांगिने र त्यसले उग्रह रुप लिएको, प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था र मौसमको प्रतिकुलताको कारण सबै मतदाता सहभागी हुन नसकेपछि ती स्थानीय तहका मतदान केन्द्रमा मतदान स्थगिन गर्नुपरेको बताए । एकै चरणमा मतदान गर्दा सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको र राजनीतिक दलहरुले सानातिना विषयमा पनि विवाद सिर्जना गरेर त्यसले उग्र रुप लिएको उनले जनाए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले सम्बन्धि निर्वाचन अधिकृतको कार्यालय र आयोगको समन्वयमा छिटै पुनः मतदानको प्रक्रिया सुरु गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए । उनले केही दुर्गम क्षेत्रहरु आवागमन कठिन भएकाले भोलि मात्रै हेलिकोप्टरबाट मतपेटिका ओसार्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

यस्तै उनले शान्तिपूर्ण रुपमा सम्पन्न भएका मतदानस्थलका मतपेटिका शील गरेर निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने काम सुरु भएको र ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेका मतदातालाई मतदान गर्न दिएकाले केही ठाउँमा मतदान जारी रहेको जनाए ।

१८ वटा स्थानीय तहमा स्थगित भएका केन्द्रमा पुनः मतदान भएपछि मात्रै मतगणना गरिने उनले बताए । अन्य ठाउँमा केही स्थानीय तहमा आज रातीदेखि नै मतगणना सुरु हुने र केही स्थानीय तहमा मतपेटिका संकलन भए पनि भोलि बिहान मात्रै गणना सुरु गरिने जनाए ।