मोरङ – नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय चुनावी गठबन्धन बाध्यता नभई आवश्यकता भएको बताएका छन् ।
बुधबार मोरङको विराटनगरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काँग्रेस नेतृत्वको गठबन्धनको प्रतिवद्धता प्रजातन्त्रलाई सुदृढीकरण गर्ने भएकाले चनावी तालमेल पनि राष्ट्रिय आवश्यकता भएको जिकिर गरे । उनले आफू प्रधानमन्त्री बन्न नचाहे पनि आवश्यकताका आधारमा बनेको दाबी गरे ।
‘अहिले जुन पाँच दलीय गठबन्धन बनेको छ, त्यो राष्ट्रिय आवश्यकता अनुसार बनेको हो ।’ उनले भने, ‘वास्तवमा म चाहँदैनथेँ, सबैले ओलीलाई हटाउनुपर्यो भनेपनि लागेको हुँ । प्रधानमन्त्री बन्ने रहर नै थिएन यसपाली । साथीहरुले सहयोग गर्नुभयो, प्रधानमन्त्री बनेँ ।’
पाँच दलीय गठबन्धनमा कुनै पनि किसिमको शंका, उपशंका गर्न नहुने बताउँदै देउवाले काँग्रेसले धोका दिन नहुने बताए । उनले भने, ‘काँग्रेस पार्टीले कसैलाई धोका दिँदैन । बरु काँग्रेसले धोका खाला तर धोका दिँदैन । त्यसकारण काँग्रेस पार्टीको टाउकोमा धोकेबाज भन्ने बिल्ला नहोस् ।’
उनले उचाल्ने, पछार्ने मान्छे धेरै भएकाले त्यसतर्फ सचेत रहन समेत आग्रह गरे ।