काठमाडौँ – टी–२० सिरिजको अन्तिम खेलमा नेपालले जिम्बाब्बेको ‘ए’ टोलीलाई ८ विकेटले हराएको छ । यससँगै ३ खेलको सिरिज बराबरी भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको जिम्बाब्बे ‘ए’ टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै १३८ रन बनाएर जित हात पारेको हो ।
नेपालका लागि ओपनर आशिफ शेखले शानदार ब्याटिङ गरे । उनले ५४ बलमा नटआउट सर्वाधिक ८७ रन बनाए । त्यसक्रमा उनले १३ वटा चौका र १ छक्का ठोके । यस्तै कुशल भुर्तेलले २६ बलमा ३४ रन हाने । त्यसक्रममा उनले २ चौका र २ छक्का ठोके । यस्तै बासिर अहमद १० रन बनाएर आउट भए ।
जिम्बाब्बेका लागि लुके जोंग्वे र ब्रान्डोन माभुताले समान १–१ विकेट लिए ।
यसअघि जिम्बाब्बेका लागि रोय काइयाले ४१ बलमा ७ चौकाको मदतमा ४० रन बनाएर आउट भए । यस्तै ताडिवानासे मरुमानीले ३० बलमा १ चौका र १ छक्कासहित २७ तथा लुके जोंग्वेले २३ बलमा २ चौकासहित नटआउट २३ रन बनाए ।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए । यस्तै वासिर अहमदले ४ ओभरमा १८ रन दिएर १ विकेट लिए भने सोमपाल कामीका नाममा १ विकेट रह्यो ।नेपालले जवाफी ब्याटिङ गर्दैछ ।
सिरिजको पहिलो खेलमा जिम्बाब्बेले जितेको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुई टोलीले अंक बाँडेका थिए । अन्तिम खेलमा नेपालले जितेसँगै सिरिज बराबरी भएको हो ।
यी दुई टोलीबीच अब शुक्रबारदेखि तीन खेलका ५० ओभरको खेल हुँदैछ ।