विराटनगर – नेपाली कांग्रेस विराटनगरले आसन्न स्थानीय तह निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा विराटनगर महानगरभित्र ३० युनिटसम्म विद्युत् प्रयोग गर्ने उपभोक्ताको बिजुली महसुल निशुल्क गर्ने उल्लेख छ ।


ADVERTISEMENT


कांग्रेसको महानगरसमितिले केन्द्रीय नेतारहरूको उपस्थितिमा शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने पनि भनिएको छ ।


ADVERTISEMENT

# # #


कांग्रेसबाट प्रमुख पदका उमेदवार नागेश कोइरालाले बीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई व्यवहारिक रूपमा लागु गर्न निम्न आय भएका नागरिकको समस्या सम्बोधन गर्नेगरी कार्यक्रम ल्याइएको दाबी गरे ।

कोइरालाले आफूले समाजवादको सिद्धान्तमा रहेर चुनावी संकल्पपत्र तयार पारेको बताए । साथै उनले सरकारबाट प्रमुखलाई प्राप्त हुने सबै आर्थिक सुविधा सेवा र सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आफ्नो पार्टी विजयी भएमा विराटनगर महानगरपालिकामा भूमिगत पार्किङसहितको २५०० क्षमताको सुविधासम्पन्न सभागृहको निर्माण गर्ने महत्वाकांक्षी घोषणा गरेका छन् ।

“आज हरेक राजनीतिक पार्टी, तिनका भ्रातृ, भगिनी र शुभेच्छुक संगठन र अन्य विभिन्न सङ्घसंस्थाहरू आफ्नो महाधिवेशन गर्ने उपयुक्त स्थानपाइरहेका छैनन्,” कोइरालाले भने, “राजनीतिक चेतनाको उद्भवस्थल विराटनगरलाई महाधिवेशनको केन्द्र बनाउने हो भने यहाँको महत्त्व र आकर्षण अझ बढ्नेछ ।”

कांग्रेसले सार्वजनिक गरेको कार्यक्रममा अनाथ, असहाय तथा विपन्नका पहुँचमा शिक्षाको समान अवसर पुर्‍याउन नमुना आवासीय विद्यालयको स्थापना गर्ने उल्लेख छ । सामुदायिक विद्यालयलाई छात्रामैत्री बनाउन भेन्डिङ मेसिनसहितको प्याड ब्याङ्क स्थापना गर्ने जनाइएको छ ।

जटिल शल्यक्रिया तथा विशेषज्ञ सेवासहित महानगर अस्पताल (मेट्रोसिटी हस्पिटल) स्थापना गर्ने, तारे होटल र कम्तीमा १ सय जनालाई रोजगारी दिने सपिङ कम्प्लेक्स, मल वा डिपार्टमेन्टल स्टोरलाई कम्तीमा ५ वर्ष महानगरपालिकाले लिने राजस्वमा ५० प्रतिशत छुट गर्ने, विराटनगरमा एक औद्योगिक र राजनीतिक संग्रहालयको निर्माण गर्नेसहितका योजना घोषणापत्रमा उल्लेख छन् ।

कोइरालो बिजुली, टेलिफोन, इन्टरनेटलगायतका तारका सञ्जाललाई भूमिगत गर्न संघीय र प्रदेश सरकारसँग समन्वय गरी ताररहित विराटनगर निर्माणको पहल गर्ने बताए ।

ट्राफिक चापलाई घटाउन महानगरभित्र आवश्यक स्थानमा एस्केलेटर (विद्युतीय सिँढी)सहितको आकासे पुल निर्माण गर्ने, सहरभित्र स्मार्ट पार्किङ स्थल निर्माण गर्ने र त्यसको व्यवस्थापनमा काम गर्ने, नगरको पूर्वी र पश्चिम सीमामा रहेका केसलिया र सिङ्घिया खोलाका किनारमा वृक्षरोपण गरी ग्रिनबेल्ट करिडोरका रूपमा विकास गर्ने कार्यक्रम घोषणापत्रमा समेटिएको छ ।

घोषणापत्रमा विराटनगरका मध्य भागमा रहेको नहरलाई पैदल मार्ग र साइक्लिङ जोनका रूपमा विकास गर्ने, कला, साहित्य र संगीतको निरन्तर कार्यक्रम सञ्चालनका लागि ‘ओपन स्क्वायर’ निर्माण गर्ने, विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आईसीपी) सम्म यही वर्ष आइपुग्ने कार्गो रेलको सेवालाई समुचित व्यवस्थापन गर्न रेलको यार्डदेखि आईसीपीसम्म पक्की सडक निर्माण गर्ने कार्यक्रम पनि उल्लेख छ ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरू महेश आचार्य, डा। डिला सङ्ग्रौला र भीम पराजुली सहभागी थिए ।