काठमाण्डौं-प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा हालसम्म चार जना कर्मचारीको मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


अनिवार्य विमा भएकाले मृतकका परिवारले २० लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रावधान छ । निर्वाचनका क्रममा शिक्षक टंक गौतम, कार्यालय सहयोगी लेखनाथ निउरे, म्यादी प्रहरी विनोद चौधरी र मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको निधन भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


रामेछापको उमाकुण्ड गाउँपालिका सिद्धेश्वर मावि मतदान केन्द्रमा खटिएका शिक्षक गौतम गत आइतवारको निर्वाचन पश्चात् घर फर्किने क्रममा बाटैमा मृत भेटिएका थिए ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका २ छोसेरस्थित दिव्यदीप मावि मतदानस्थलमा खटिएका कार्यालय सहयोगी लेखनाथ निउरेको जोमसोम फर्कने क्रममा विरामी भएपछि उपचारका क्रममा हिजो बिहान निधन भएको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ तुलसी बोर्डिङ स्कुल नजिकको चोकमा भएको विस्फोटमा परि गम्भीर घाईते २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको गएराती निधन भएको हो ।

संखुवासभा मादी नगरपालिका ८ मावादिनका मतदाता शिक्षा कार्यकर्ता आनन्द गुरुङको गत मंसिर ८ गते निधन भएको ढकालले जानकारी दिए ।