कर्णाली – कर्णालीमा शनिबार बेलुकासम्म छ जिल्लामा सत्तासाझेदार दलहरूबीच तालमेल गरेर चुनावी प्रतिस्पर्धामा जाने टुङ्गो लागेको छ । नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दैलख र सल्यानमा गठबन्धन दलबीच तालमेल गरेर जाने गरी सहमति भएको छ । बाँकी जिल्लाको भागबण्डा मिलाउन सहमतिको लागि अन्तिम प्रयास भइरहेको छ ।


ADVERTISEMENT


अध्यक्ष केसीले जुम्ला सहमतिको नजिकमा पुगेको जानकारी दिए । उनले भने, “रुकुमपश्चिम, सुर्खेत र कालिकोट जिल्लाको भागबण्डा मिलाउन भने गठबन्धन दलबीच सघन छलफल भइरहेको छ । यसका लागि अब बैठक बस्दैछौँ र आजै जसरी पनि टुङ्ग्याउँछौँ ।” वडास्तरको भागबण्डा भने गठबन्धन दलका जिल्ला पार्टीले नै मिलाउने उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले मनोनयन दर्ताको समयलाई मध्यनजर गरेर जसरी भए पनि गठबन्धन दलको तालमेललाई सहमतिमा लैजाने जानकारी दिए । “हामी गठबन्धन दलको केन्द्रको निर्णयानुसार सहमति गर्ने गरी गहन छलफलमै छौँ”, सभापति शाहीले भन्नुभयो, “जे–जसो गरे पनि आज नटुङ्ग्याई सुखै छैन । विश्वास छ, हामी सार्थक निर्णयमा पुग्छौँ ।”

नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश अध्यक्ष अमर थापाले पनि गठन्धन दलभित्र तालमेलको सहमति जुटाउन अन्तिम कसरत थालिएको बताए । अध्यक्ष थापाका अनुसार आजै मनोनयन दर्ता गरी सहमतिको टुङ्गोमा पुर्याउने प्रयास भइरहेको छ । रासस