काठमाडौं – बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को मन्त्री तथा सचिव स्तरीय बैठक सुरु भएको छ। भर्चुअल माध्यमबाट बिहान ९:३० देखि बैठक सुरु भएको हो । बिमस्टेकका ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकको अध्यक्षता ऊर्जा मन्त्री पम्फा भुसालले गरेकी छिन्।


ADVERTISEMENT


उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै मन्त्री भुसालले ‘बिमस्टेक क्षेत्रमा दिगो आर्थिक वृद्धि हासिल गर्न ऊर्जा, वातावरण र अर्थतन्त्र बीचको इनर्जी, इन्भारोमेन्ट एण्‍ड इकोनोमी (3E) सम्बन्ध उल्लेखनीय रूपमा महत्त्वपूर्ण छ।’ उनले भनिन्, ‘बिमस्टेकको भविष्य पनि करिब १ अर्ब ७ करोड जनताको भविष्य हो ।’ भुसालले नेपालको जलविद्युतले नेपाललाई मात्र नभई सिंगो क्षेत्रलाई फाइदा पुग्ने बताइन् ।


ADVERTISEMENT

# # #


बैठकमा बोल्दै भारतीय विद्युत मन्त्री आरके सिंहले भने ‘हामीलाई जलविद्युत चाहिएको छ । हामी जलविद्युत किन्छौं , तर तेश्रो मुलुकको संलग्नताको होइन बिमस्टेकको ऊर्जा खरिद गर्ने हो, बिमस्टेकको ऊर्जा बेच्ने हो । नवीकरणीय ऊर्जाको अनियमित आपूर्तिलाई न्यूनिकरण गर्न पनी जलविद्युतले मद्दत पुर्‍याउने छ ।’

भारतमा यतिखेर ५५०० मेगावाट अपुग छ । भारतमै विद्युत अभाव भएकाले रातिको समय नेपाललाई बिजुली दिन सकेको छैन र नेपालको उद्योग क्षेत्रमा आपूर्ति कटौती गरिएको छ ।

बैठकको अन्त्यमा हिजोको सचिवालय बैठकको प्रतिवेदन आज पारित गरी संयुक्त विज्ञप्ति जारी गरिने मन्त्रालय स्रोतले जनाएको छ। ​बिम्सटेकमा बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य राष्ट्र छन् । रासस