ललितपुर –  महालक्ष्मी नगरपालिका, ललितपुर र महालक्ष्मी नगरपालिका, धनकुटाबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यासहरू आदानप्रदान गर्ने जस्ता विषयवस्तुहरू सो समझदारी पत्रमा उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत  रोशन ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरे । त्यसैगरी, महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, नगर उपप्रमुख  मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत  लिलाराज श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त कार्यक्रममा दुवै नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनितिक दलका प्रतिनिधिहरू, यस नगरपालिकाका सामुदायिक विद्यालयका विव्यस अध्यक्ष र प्रधानाध्यापकहरू, नगरपालिकाका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकार र दुवै नगरपालिकाका स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा महालक्ष्मी नगरपालिका, ललितपुरको नगर गानको प्रस्तुति तथा सार्वजनिकिकरण, महालक्ष्मी नगरपालिकाको प्रयास र उपलब्धी पुस्तक विमोचन र महालक्ष्मी पत्रिकाको विमोचन गरिएको थियो ।

महालक्ष्मी नगर गान शुभारम्भ कार्यक्रममा उक्त नगरगानका रचनाकार ९ नं वडाका वडा अध्यक्ष श्री वासुदेव गौतमसहित उक्त गानका संगितकार एवम् गायक टीका भण्डारी, रेकर्डिस्ट तथा संगित एरेञ्जर हरिशरण सायमी, गायक मुन्ना गुरुङ, दुर्गा परियार र जिना रसाइलीलाई सम्मान गरिएको थियो । साथै, दुबै नगरपालिकाको तर्फबाट मायाको चिनो आदानप्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिका, ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख  निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत  रोशन ज्ञवाली, महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख  पर्शुराम नेपाल र नगर उपप्रमुख  मञ्जु अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।

वहाँहरूले यस भगिनी सम्बन्ध सम्झौताले दुवै नगरपालिकाको पर्यटन प्रवर्द्धन, सामाजिक, सांस्कृतिक, व्यापारिक, आर्थिक र संस्थागत विकास लगायतका विषयहरूमा अन्तर्सम्बन्ध कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन महालक्ष्मी नगरपालिका ललितपुरका प्रमुख शिक्षा अधिकृत  चिरञ्जिवी पौडेलले गरेका थिए र कार्यक्रमा मनोरञ्जन स्वरूप गायक मुन्ना गुरुङ र गायिका जिना रसाइलीले सांगितिक प्रस्तुति गरेका थिए ।