काठमाडौँ– नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ । उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ र


ADVERTISEMENT


उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने जानकारी प्राप्त भएको छ । बैठकमा नेपाल र युएईबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यान्वयनबारे समीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयन पक्षमा पनि छलफल गरिने भएको छ । बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल गरिने भएको छ । पर्यटन प्रवेशाज्ञामा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

युएईको भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अवारबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताका क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न विषयमा छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले पर्यटन प्रवेशाज्ञा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे आफ्ना समकक्षीसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार युएई प्रस्थान गरेका थिए आबुधावीस्थित विमानस्थलमा नेपाली प्रतिनिधिमण्डललाई युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरे ।

बुधबार मन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजना हुने नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपायबारे नेपाली समुदायसँग छलफल गर्नेछन् । रासस