काठमाडौं – अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत प्राध्यापक श्रीधर खत्री आफ्नो जिम्मेवारी सम्हाल्न शनिबार साँझ वासिङ्टन डीसी पुगेका छन् । खत्रीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनियताको सपथ लिएका थिए । सपथ लिएको तीन दिनपछि राजदूत खत्री अमेरिका पुगेका हुन् । नवनियुक्त राजदूत खत्रीलाई कार्यवाहक राजदूत कुमार खरेललगायतले स्वागत गरे ।


ADVERTISEMENT


राजदूत खत्रीले अमेरिकामा केही दिनभित्रै ओहोदाको प्रमाणपत्र (क्रेडेन्सियल) त्यहाँका राष्ट्रपति जो बाइडनसमक्ष बुझाउने छन् । यसअघिका राजदूत डा युवराज खतिवडाले भने अमेरिकी राष्ट्रपतिसमक्ष क्रेडेन्सियल बुझाउन सकेका थिएनन् । उनले हुलाकबाट क्रेडेन्सियल पठाएर भेटघाट गरेका थिए ।


ADVERTISEMENT

# # #


शेर बहादुर देउवा नेतृत्वको सरकार बनेपछि खतिवडालाई फिर्ता बोलाइएको थियो । उनकै स्थानमा खत्री राजदूत बनेर अमेरिका पुगेका हुन् । देउवा सरकारले एकैपटक तीन देशका लागि राजदूत सिफारिस गरेको थियो । खत्रीबाहेक ज्ञानचन्द्र आचार्य र डा शंकर शर्मा सिफारिसमा परेका थिए । बेलायतका लागि राजदूत नियुक्त भएका आचार्यले आफ्नो कार्यभार सम्हाल्न सुरु गरिसकेका छन् । डा शर्माको भने भारतबाट सहमति आएको छैन ।

अन्तराष्ट्रिय सम्बन्ध र राजनीतिक मामिला अध्यापन गराउने खत्री लामो समयअघि देखि नै राजदूत बन्ने चर्चा चल्ने गरेको थियो । सम्भावित राजदूतहरूको सूचीमा नाम पर्ने गरे पनि उनलाई जिम्मेवारी भने दिने गरिएको थिएन । तर यसपटक भने प्रधानमन्त्री देउवाले परराष्ट्र विज्ञ खत्रीलाई अमेरिकाको राजदूत बनाएर पठाउने निर्णय गरे ।

अन्तर्राष्ट्रिय राजनीतिका विविध विषयमा शोध गर्दै आएका खत्री साढे दुई दशकअघि परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको प्रमुख थिए । त्यसपछि उनले श्रीलंका र सिंगापुरमा रहेर दक्षिण एसिया र एसियाबारे अध्ययन गरे । महादेसीय र क्षेत्रीय राजनीतिका जानकार रहेका खत्रीलाई अमेरिका, चीन र भारत मामिलाका विज्ञ पनि मानिन्छ ।

प्राध्यापक खत्रीका पिता पदमबहादुर खत्री पनि अमेरिकाका लागि नेपाली राजदूत थिए । वासिङ्टन डीसीमा हाल नेपाली दूतावास रहेको भवनलाई पदमबहादुर राजदूत निवासका रुपमा प्रयोग गर्थे । संयोगवश त्यही भवनमा रही पदमबहादुरका पुत्रले नेपाल अमेरिकाबीचको सम्बन्ध मजबुत बनाउन भूमिका निर्वाह गर्नेछन् । कन्सुलर सेवा भने प्राध्यापक खत्रीले आफ्ना पिताले कार्यालय बनाएको चान्सरी भवनबाट दिनेछन् ।