काठमाडौं – भोजपुरमा धेरै ठूलो विशेषज्ञ चिकित्सक उपस्थितिमा नेपालकै पहिलो स्वास्थ्य शिविर सञ्चालन भएको दाबी गरिएको छ । देशकै प्रतिष्ठित चिकित्सकसहितको उपस्थिति रहेको भोजपुर जिल्लामा विभिन्न विभागसहित सञ्चालित निःशुल्क स्वास्थ्य शिविर नेपालमै अहिलेसम्मको ठूलो भएको दाबी गरिएको हो ।


ADVERTISEMENT


नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्की, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका राज्यमन्त्री उमेश श्रेष्ठ, प्रदेश नम्बर एकका पूर्व मुख्यमन्त्री शेरधन राईदेखि भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले मगरले भोजपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरलाई ऐतिहासिक र अहिलेसम्मकै ठूलो भएको दाबी गरेका छन् ।


ADVERTISEMENT

# # #


भोजपुर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा प्रतिष्ठित चिकित्सक डा भगवान कोइराला, डा रत्नमणि गजुरेल, डा मेनन गोर्खाली, डा विश्व दवाडी डा  दीपक सिग्देल, डा आनन्दप्रसाद श्रेष्ठ, डा भुपेन्द्र कुमार बस्नेत, डा प्रमोद जोशी, डा न्युरो सर्जन डा प्रत्युस श्रेष्ठ, डा। फरेन्द्र साह, डा रबिन बस्नेत, प्रकाश बुढाथोकीलगायत ५० बढी विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन् । योभन्दा अगाडि यति धेरै ठूलो संख्यामा विशेषज्ञ चिकित्सक उपस्थिति भएको स्वास्थ्य शिविर नरहेको आयोजक संस्थाहरुको भनाई छ ।

भोजपुर नगरपालिकाको आयोजना, दावाँली मिलन क्लबको समन्वय र नेपाल चिकित्सक संघसँगको सहकार्यका सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हजारौंले स्वास्थ्य सेवा लिएका छन् । आज र भोलि गरी दुई दिनसम्म चल्ने निःशुल्क स्वास्थ्य शिविरमा ५ हजार बढीले सेवा लिने बताइएको छ ।

स्वास्थ्य शिविरको उद्घाटन समारोहमा राज्यमन्त्री उमेश श्रेष्ठले भोजपुरमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर एतिहासिक र भव्य भएको बताए । भोजपुर जिल्ला अस्पतालमा नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीको अग्रसरतामा अक्सिजन प्लान्ट स्थापना गरिएको स्मरण गर्दै राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य शिविरमा उनको ठूलो योगदान रहेको बताए ।

प्रदेश र जिल्ला अस्पताल राम्रो बनाउँदा केन्द्रलाई भार नपर्ने भन्दै उनले भोजपुर जिल्ला अस्पताललाई राम्रो बनाउनु पर्ने धारणा राखे । भोजपुर जिल्ला अस्पताललाई ५० वेडको अस्पतालमा स्तरोन्नती गर्न तत्काल विशेषज्ञ दरबन्दी स्वीकृत गर्न पहल गर्ने राज्यमन्त्री श्रेष्ठको भनाइ छ । ‘जबसम्म देश धनी हुँदैन तबसम्म स्वास्थ्य र शिक्षामा धेरै लगानी हुँदैन । त्यसैले देश र जनतालाई धनी बनाउन गरिखाने अभियान नै सञ्चालन गरिएको छ ‘, उनले भने ।

विद्योदय विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर उद्‌घाटन समारोहमा बोल्ने क्रममा राज्यमन्त्री श्रेष्ठले आफूसहित राष्ट्रपति विद्यादेवी भण्डारी, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा। नारायण खड्का पनि उक्त स्कूलको ‘प्रोडक्ट’ भएको सुनाए । विद्योदय विद्यालयमा पढ्ने कैशाल विश्वकर्मालगायतलाई डाक्टर पढाएको भन्दै उनले थप योगदान गर्न आफू तयार रहेको बताए ।

पूर्व मुख्यमन्त्री शेरधन राईले पनि भोजपुरको स्वास्थ्य शिविर अहिलेसम्मकै ऐतिहासिक र ठूलो रहेको दाबी गरेका छन् । भोजपुर जिल्लाबासीले अवसरको रुपमा लिनुपर्ने भन्दै उनले वृहत्त निस्शुल्क स्वास्थ्य शिविरलाई सफल बनाउनु पर्ने बताए । ‘धेरै ठूलो संख्यामा विशेषज्ञ चिकित्सकको उपस्थितिमा स्वास्थ्य शिविर सञ्चालन गरेको थाहा थिएन, त्यसैले यो नै पहिलो वृहत्त निःशुल्क स्वास्थ्य शिविर हो’, पूर्व मुख्यमन्त्री राईले भने ।

जिल्ला अस्पताल भोजपुरलाई ५० बेडमा स्तरोन्नती गर्न संघ र प्रदेश मिलेर संयुक्त रुपमा पहल गर्नुपर्ने र त्यसका लागि राज्यमन्त्री श्रेष्ठलाई अग्रसरता लिन उनले आग्रह गरे ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले भोजपुरमा सञ्चालित स्वास्थ्य शिविर ऐतिहासिक र वृहत्त रहेको बताए । उनले आफ्नो ठाउँमा आएर सेवा दिन पाउँदा खुसी लागेको बताउँदै स्वास्थ्यको क्षेत्रमा भोजपुरलाई थप अगाडि बढाउनु पर्ने धारणा राखे ।

कोरोना महामारीमा जिल्ला अस्पताल भोजपुरमा अक्सिजन प्लान्ट स्थापना गर्न पहल गरेको बताउँदै जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नती गर्न आवश्यक पहल लिने स्पष्ट पारे ।

स्वास्थ्य शिविरलाई भव्य रुपमा सफल पार्न सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मीसहित सबै क्षेत्रलाई धन्यवाद समेत दिए । निःशुल्क स्वास्थ्य शिविर भोलिसम्म चल्ने छ । निःशुल्क स्वास्थ्य शिविर उद्घाटन समारोहमा हास्य कलाकार मनोज गजुरेलले मनोरञ्जन प्रदान गरे ।