काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले आसन्न स्थानीय निर्वाचनमा मतपत्र हरियो रंगको बनाउने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


मंगलबार नारी दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रमा निर्वाचन चिन्ह हरियो रंगको राख्न नहुने बताएका हुन् । उनले भने, ‘निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे । हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने ? निर्वाचन आयोगले बताउनु पर्यो ?’


ADVERTISEMENT

# # #


अध्यक्ष ओलीले निर्वाचनमा सत्तारुढ काँग्रेसलाई सहयोग पुग्नेगरी आयोगले मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो राखेको आरोप लगाए । काँग्रेसको रुख चिन्हलाई संकेत गर्दै उनले भने, ‘यदि हरियो चिन्ह राख्ने हो भने कुन हिसाबले राख्ने ? धार्मिक हिसाबले राख्ने हो वा कसैको हरियो देखिने चिन्ह छ, त्यसैले राख्ने ? सबैले, कमजोर आँखा देख्नेले रुखैरुख देखोस् भनेर राख्ने हो ? किन हरियो राख्ने ?’

मतपत्रमा हरियो चिन्ह आफूलाई मान्य नहुने बताउँदै अध्यक्ष ओलीले निर्णय फिर्ता लिएर त्रुटी सच्याउन आग्रह गरे । उनले भने, ‘निर्वाचन आयोगले त्रुटी सच्याउनु पर्छ, हरियोसरियो हुँदैन ।’

मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले सोमबार चुनावका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरको थियो ।

स्थानीय निर्वाचन आगामी वैशाख ३१ गते देशभर एकैचरणमा हुँदैछ ।