भादगाउँ – महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेव र भक्तपुर नगरस्थित दत्तात्रय मन्दिरका साथै विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।


ADVERTISEMENT


शिवरात्रिको दिन बिहानै नुहाइधुवाइ गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट जल, गङ्गाजल, गाईको दूध र सखरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक मान्यता छ । त्यसैगरी अविवाहिता महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ ।


ADVERTISEMENT

# # #


महाशिवरात्रिको अवसरमा सर्वसाधारण भक्तजनका लागि डोलेश्वर महादेव मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । मन्दिरमा विशेष पूजाका साथै हवन र रुद्धाभिषेक गरी पञ्चस्नान गराउने व्यवस्थासमेत समितिले मिलाएको छ । साँझ पाँच प्रहरको विशेष पूजाका साथै आरती गर्ने व्यवस्था गरिएको समितिका कोषाध्यक्ष मोहन बल्लले जानकारी दिए ।

महाशिवरात्रिका लागि डोलेश्वर परिसर बेहुलीझैँ सिङ्गारिएको छ । मूल मन्दिर, मूल प्रवेशद्धारलगायत स्थानमा फूलैफूलका मालाले सिङ्गारिएको छ । पछिल्लो समय डोलेश्वरमा शिवरात्रिका अवसरमा भक्तजनका साथै स्वदेश र विदेशबाट समेत उल्लेख्यरूपमा साधुसन्त र बाबाहरूको आगमन हुने गरेको छ । यस वर्ष महाशिवरात्रिका लागि करिब २५० साधुसन्त डोलेश्वर आइपुगेको कोषाध्यक्ष बल्ले बताए ।

साधुसन्तलाई निःशुल्क भोजनका साथै धुनी बाल्न आवश्यक दाउरा समितिले उपलब्ध गराएको छ । साधुसन्तलाई शिवरात्रिपछि वर्गानुसार दक्षिणा र उपहार दिएर बिदा गरिने कोषाध्यक्ष बल्लले जानकारी दिए । रासस