काठमाडौं – सरकारले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सदनमा टेबुल गर्न चाहे सभामुख अग्निप्रसाद सापकोटाले नरोक्ने भएका छन् ।


ADVERTISEMENT


सरकारले प्रयास गरे पनि सभामुखले नचाहेका कारण एमसिसी प्रतिनिधिसभामा टेबुल हुन सकेको थिएन । यही विषयले ६ पटक प्रतिनिधिसभा बैठक स्थगित भइसकेको छ ।


ADVERTISEMENT

# # #


सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकपछि भने बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल हुने अवस्था देखिएको हो ।

सर्वदलीय बैठकमा सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले सदनबाट एमसिसी अघि बढाउनुपर्ने तर्क गरेका थिए। सदनमा लगेपछि सांसदले आ–आफ्नो धारणा राख्ने र त्यसलाई निर्णायक प्रक्रियामा लैजान सकिने उनीहरूको मत थियो । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली भने सो बैठकमा सहभागी भएनन् ।

बैठकमा प्रतिनिधिसभामा विचाराधीन सबै विधेयक अघि बढाउने विषयमा पनि सहमति भएको छ । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग राखेर लामो समयदेखि सदन अवरुद्ध पार्दै आएको छ ।

एमसिसी टेबुल भएपछि भने सो पार्टीलाई संसद्मा अवरोध सिर्जना गर्न नैतिक संकट पर्नेछ । त्यसैले अब एमसिसी सदनबाट अघि बढाउनुपर्ने पक्षमा माओवादी केन्द्र र नेकपा एस उभिएका छन् ।

एमाले सचिव योगेश भट्टराईले एमसिसी सदनमा आएपछि मात्रै पार्टीले निर्णय लिने बताएका छन्।  समाचार नागरिक दैनिकबाट ।