काठमाडौँ– आगामी ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवस (फागुन ७ गते) भव्यरुपमा मनाउन प्रचार–प्रसारका हिसाब सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरिएको छ ।


ADVERTISEMENT


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं प्रजातन्त्र दिवस प्रचारप्रसार उपसमितिका संयोजक डा बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको बैठकले सञ्चारमाध्यमबाट विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


प्रजातन्त्र दिवसका दिन घर, कार्यालय र मण्डलालगायतमा दिपावली गर्ने, घर–घरमा राष्ट्रिय झण्डा फहराउने तथा विद्युतीय सञ्चार माध्यमबाट जागरणसम्बन्धी गीत प्रसारण गरिने भएको छ ।

जहानिया राणा शासनबाट जनतालाई मुक्त गरी मुलुकमा तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र बहालीको घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते पर्वकैरुपमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले बलिदानी दिएका थिए । राष्ट्रिय समाचार समिति(रासस)ले प्रजातन्त्र दिवसका अवसरमा दिवस केन्द्रित सामग्री तयार गरी अन्य सञ्चार माध्यमलाई उपलब्ध गराउने छ । विद्युतीय सञ्चार माध्यमबाट प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद प्रसारण गर्ने तथा छापा माध्यम अर्थात राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रजातन्त्र दिवस विशेषाङ्क, स्मारिका र लेख रचनाको सङ्गालो प्रकाशन गरिनेछ ।

प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमलगायतका दूरसञ्चार सेवा प्रदायक संस्थाबाट शुभकामना एसएमएस गर्ने, नेपाल टेलिभिजन र रेडियो नेपाल तथा सामुदायिक एवं निजी क्षेत्रका अन्य सञ्चार माध्यमबाट पनि प्रजातन्त्र दिवसको महत्वबारे कार्यक्रम र सामग्री प्रकाशन तथा प्रसारण गरिने छ । रेडियो र टेलिभिजनलगायतका सञ्चार संस्थाले प्रजातन्त्र मूल समारोहसम्बन्धी कार्यक्रमको प्रत्यक्ष प्रसारणको व्यवस्था मिलाउने छन् ।

बैठकमा मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्ष, राष्ट्रिय समाचार समिति(रासस)का महाप्रबन्धक, रेडियो नेपालका कार्यकारी निर्देशक, नेपाल टेलिकमका प्रबन्ध निर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशकलगायत सहभागी थिए । रासस