काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विस्तारै न्यून हुँदै गएसँगै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिविले विभिन्न तहका परीक्षा फागनुबाटै सुरु गर्ने तयारी गरेको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको जानकारी दिए । उनका अनुसार रोकिएका परीक्षा पुनः सञ्चालनका लागि यही २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम भइरहेको छ ।
नेपालमा कोरोनाको तेस्रो लहर बढेसँगै त्रिविले गत माघ ९ गतेदेखि लागू हुनेगरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै तहका सबै किसिमका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो ।
त्रिविले सूचना प्रकाशित गरेपछि क्रमशः स्नातक तहका विभिन्न वर्ष र सेमेस्टरका परीक्षाहरु सञ्चालन हुनेछन् । यस्तै स्नातकोत्तर तहका केही परीक्षापनि सोही समयमा सञ्चालन हुनेछन् ।