बुटवल – स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ । सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनःनिर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरूपको बनाइएको छ । वडा नं ७ को पुनःनिर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ ।


ADVERTISEMENT


उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुनःनिर्माण भएको भवनको शुभारम्भ गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे । टोलस्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगरस्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ थियो । वडाध्यक्ष कमलप्रताप थापाले आफूहरू नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रूपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा गर्ने प्रतिवद्धता जनाए ।


ADVERTISEMENT

# # #


करिब ३२ लाख रुपैयाँमा सो वडा भवन पुनःनिर्माण भएर सेवा सुरु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिए। माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनःनिर्माण गरी बनाइएको हो ।

त्यस्तै उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो । त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब रु ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको छ आवास गृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए।

सहरबीच भागमा र धेरै जनघनत्व रहेको वडाका रूपमा रहेको वडा नं ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुने छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ । जम्मा १९ वडा रहेको बुटवल उप महानगरपालिकामा यसअघि वडा नं १० को भवन निर्माण भएको छ र वडा नं २ को पनि पुनःनिर्माण हुने तयारीमा छ । रासस