काठमाडौं – आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोभिडविरुद्धको खोप लगाइने भएको छ । देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि खुलेका हुन् ।


ADVERTISEMENT


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।


ADVERTISEMENT

# # #


काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ । यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।