काठमाडौं – बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुरु भएको छ । राजधानीवासीलाई पानी पुनः वितरण गर्ने गरी फेरि काम सुरु भएको हो । २०७७ चैत १५ गते परीक्षणका रूपमा काठमाडौँका धारामा झरेको मेलम्चीको पानी स्थायी रूपमा वितरण गर्न नपाउँदै २०७८ असार १ गतेको बाढीले मुहान नै ध्वस्त बनाएको थियो ।


ADVERTISEMENT


ध्वस्त संरचनाको पुनर्निर्माणको काम यसअघि नै निर्माण जिम्मा पाएको चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता राष्ट्रका नाममा सम्बोधन गर्दै यसै वर्षभित्र मेलम्चीको पानी पुनः काठमाडौँमा आउने बताएका थिए । कार्यकारी निर्देशक पौड्यालका अनुसार अहिले निर्माण कम्पनीले बस्ने ठाउँ बनाउनुका साथै उपकरण ढुवानी गरिरहेको छ ।

बाढीले बासस्थानका साथै उपकरणसमेत बगाएको थियो । उनले भने, “सिनो हाइड्रोसँग यसअघिकै सम्झौता कायमै छ । सम्झौताको अवधि सकिएको छैन । सम्झौता अवधिसम्म उसैसँग काम गर्नुपर्ने हुन्छ ।

उसैमार्फत ‘भेरिएसन’ भएर काम गर्न लागेको हो । नयाँ सम्झौताका लागि बोलपत्र निकाल्नु पर्दैन ।” पहिलेदेखि नै काम गर्दै आएको हुनाले सिनो हाइड्रोले काम गर्दा छिटो सम्पन्न हुने पनि उनले बताए ।

मेलम्ची पुनः सञ्चालनका लागि अर्थ मन्त्रालयबाट आवश्यक बजेटसमेत सुनिश्चित भइसकेको बताउँदै उनले काममा हुने खर्चअनुसार बजेट निकासा हुँदै जाने मन्त्रालयबाट प्रतिबद्धता भएको जानकारी दिए । गोरखापत्र दैनिकबाट ।