विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगर सोचेजति राजस्व संकलन गर्न असफल भएको छ । विराटनगरले चालु आर्थिक वर्षको ६ महिनामा कूल चार अर्ब १६ करोड ६७ लाख ६४ हजार रुपैँया मात्रै राजस्व सङ्कलन गरेको हो ।


ADVERTISEMENT


जबकी सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७ हजार रुपैँया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । उक्त रकम लक्ष्यभन्दा २२ करोड छ लाख २२ हजार कम संकलित रकम हो ।


ADVERTISEMENT

# # #


गत वर्ष सो अवधिमा तीन अर्ब ८८ करोड ९७ लाख ३४ हजार रुपैँया राजस्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले तीन अर्ब ९१ करोड ५२ लाख ८८ हजार रुपैँया राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्याललये लक्ष्यभन्दा दुई करोड ५५ लाख ५४ हजार रुपैँयाले कम राजस्व सङ्कलन गरेको थियो ।

कार्यालय गएको वर्षको सो अवधिमा सङ्कलन गरेको राजस्वभन्दा २७ करोड ७० लाख ३० हजार रुपैँया राजस्व बढी सङ्कलन गर्न सफल भएको कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिए । सो अवधिमा गएको वर्षभन्दा सात प्रतिशत बढी राजस्व सङ्कलन भएको उनले सुनाए । कार्यालयले सङ्कलित गरेको राजस्वमा आयकर एक अर्ब ७० करोड चार लाख ८६ हजार, बहाल कर ५० करोड २५ लाख आठ हजार, ब्याजकर पाँच करोड ९८ लाख ५० हजार, मूल्य अभिवृद्धिकर एक अर्ब पाँच करोड ६२ लाख १९ हजार, अन्तःशुल्क एक अर्ब २९ करोड ९५ लाख ७५ हजार, स्वास्थ्य सेवा ३० हजार र शिक्षा सेवा शुल्क तीन लाख ४६ हजार रुपैँया रहेको छ ।

सङ्कलित राजस्वमा करदाता सेवा कार्यालय विराट चोकबाट १८ करोड एक लाख ४४ हजार, करदाता सेवा कार्यालय पथरीबाट १० करोड ६० लाख ७७ हजार र आन्तरिक राजस्व कार्यालय विराटनगरले तीन अर्ब ८८ करोड पाँच लाख ४३ हजार रुपैँया सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस